मौसम विभागको विशेष बुलेटिन : चिसोबाट बच्नु र हिमपातबाट जोगिनु 

मौसम विभागको विशेष बुलेटिन : चिसोबाट बच्नु र हिमपातबाट जोगिनु 

काठमाडौं : नेपालमा बङ्गालको खाडीको मध्य पश्चिम भूभागमा बनेको जवाद नामको सामुन्द्रिक चक्रवातको खासै नपर्ने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

विभागले विशेष बुलेटिन निकालेर चक्रवात आज शनिबार बिहान ओडिसाको तटीय क्षेत्रमा पुग्ने र त्यसपछि उत्तर पूर्व तर्फ सर्ने देखिएको उल्लेख गरेको छ। 

चक्रवातका कारण नेपालमा खासै ठुलो प्रभाव पर्ने सम्भावना नरहेको वरिष्ठ मौसमविद् शान्ति कँडेलले जानकारी दिइन। 

यसको अप्रत्यक्ष प्रभावले आजरातिवाट प्रदेश नं १ , प्रदेश नं २ र बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली बुलेटिनमा लेखिएको छ। विभागका अनुसार तीन वटै प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात र एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। 

विभागका अनुसार आउँदो सोमबारबाट क्रमशः यो प्रणालीको प्रभाव नेपालमा कम हुँदै जाने देखिन्छ।

तर, भोलि आइतबारबाट पुनः अर्को पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशमा पर्न सक्ने सम्भावना देखिएकाले विभागले विशेष बुलेटिन निकालेको कँडेलले बताइन।  

सो पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आइतबार देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली भई केही स्थानमा हल्का देखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। 

सोमबार सो प्रणालीले देशभर प्रभाव पारी केही स्थानमा हल्का देखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपात हुने अनुमान विभागले गरेको छ। 

आइतबार राति र सोमबार दिउसो सो प्रणालीका कारण सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको छ। सो प्रणाली सोमबार रातिबाट कमजोर बन्दै जाने अनुमान विभागले गरेको छ। 

यी मौसमी प्रणालीहरूका कारण पर्वतारोहण, हवाई यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। 

मंसिर १८, २०७८ शनिबार ०७:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।