कांग्रेसको प्रदेश अधिबेशन : कर्णालीमा भूगोलको महिला सदस्यमा एक जना मात्रै, थारु सदस्य खाली   

कांग्रेसको प्रदेश अधिबेशन : कर्णालीमा भूगोलको महिला सदस्यमा एक जना मात्रै, थारु सदस्य खाली   

काठमाडौँ : नेपाली कांग्रेसको प्रदेश २ बाहेकका ६ वटै प्रदेशमा शुक्रबार उम्मेदवारको मनोनयन दर्ता भएको छ। प्रदेश १, लुम्बिनी, गण्डकी र सुदूरपश्चिममा संस्थापन र संस्थापनइतरले प्यानल सहित उम्मेदवारी मनोनयन गरेका छन्। 

बागमतीमा संस्थापन र संस्थापन इतरसँगै कृष्ण सिटौला पक्षले प्यानल सहित उम्मेदवारी दर्ता गराएको छ। कर्णाली प्रदेशमा संस्थापन र संस्थापनइतर पक्षले प्यानलसहित उम्मेदवारी मनोनयन गर्दा उपसभापति विमलेन्द्र निधी पक्षले सभापतिमा मात्रै उम्मेदवारी दिएको छ। 

कर्णालीमा भूगोलको महिलामा एक जनाको मात्रै उम्मेदवारी परेको र थारु सदस्यमा एक जनाको पनि उम्मेदवारी नपरेको निर्वाचन समितिले जनाएको छ। ‘भूगोलको महिला र थारु सदस्यमा उम्मेदवारी दर्ता नभएपछि फेरि उम्मेदवार मनोनयन गर्न समय दियौ,’निर्वाचन अधिकृत अरुण पौडेलले उकेरासँग भने,‘समय थप गर्दा पनि भुगोगको महिलामा एक जनाको मात्रै उम्मेदवारी परेको छ।’ 

पौडेलले पदाधिकारी बाहेकका सदस्य केही पदमा निर्विरोध निर्वाचित हुने बताए। उनले शनिबार बिहान साढे ७ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने जानकारी दिए। 

यस्तै नेपाली कांग्रेस गण्डकी प्रदेशको सभापतिमा अर्जुन जोशी र शुक्रराज शर्माले उम्मेदवारी दर्ता गराएका छन्। जोशीले संस्थापन समूहबाट र शर्माले संस्थापनइतर समूहबाट प्यानलसहित उम्मेदवारी दर्ता गराएका हुन्। 

जोशीको प्यानलबाट उपसभापतिमा मेखलाल श्रेष्ठ र नेत्र महत, महामन्त्रीमा कुमार खड्का र ईश्वर पाण्डे, सहमहामन्त्रीमा राजनराज पन्त, झुलबहादुर राना र ओमकला गौतमले उम्मेदवारी दर्ता गरेका छन्। 

शर्माको प्यानलबाट सभापतिमा कल्पना तिवारी र हरिप्रसाद श्रेष्ठ, महामन्त्रीमा विष्णु लामिछाने र किरणबाबु श्रेष्ठ, सहमहामन्त्रीमा रामचन्द्र जोशी, रमेश पाण्डे र कोपिला रानाभाटले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन समितिले गण्डकी प्रदेशमा १ हजार १६० मतदाता रहेको जनाएको छ। 

निर्वाचन अधिकृत कृष्णबहादुर थापाका अनुसार पदाधिकारी बाहेकका केही पदमा निर्विरोध निर्वाचित भएका बताए। निर्विरोध निर्वाचित भएकाहरूको नामावली सार्वजनिक गर्ने तयारी भइरहेको थापाले बताए। 

यस्तै  नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा वीरबहादुर बलायर र नारायण दत्त मिश्रले उम्मेदवारी दर्ता गराएका छन्। बलायरले सभापति शेरबहादुर देउवा र मिश्रले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको समर्थनमा प्यानलसहित उम्मेदवारी दर्ता गराएका हुन्। 

बलायरको प्यानलबाट उपसभापतिमा जनक चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का, सहमहामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणि भट्ट र अम्बिका चलाउनेले उम्मेदवारी दर्ता गरेका छन्। 

मिश्र प्यानलबाट उपसभापतिमा मनबहादुर रावल र गोपाल गुरुङ, महामन्त्रीमा प्रताप गुर्दामी र रामबहादुर शाही, सहमहामन्त्री पदमराज पन्त, नरेन्द्र भट्ट र खिना भण्डारीले उम्मेदवारी दर्ता गराएका छन्।

सुदूरपश्चिम प्रदेश समितिको पदाधिकारी बाहेक केही पदमा निर्विरोध निर्वाचित भएका निर्वाचन अधिकृत वीरबहादुर जेठाराले बताए। एक पदमा एक जनाको मात्रै उम्मेदवारी परेकाको नाम लिष्टिङ गर्ने काम भइरहेको उनले बताए। 

मंसिर १७, २०७८ शुक्रबार २१:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।