ठगीमा इच्छाराजको बयान : बचतकर्ताको रकम फिर्ता गर्ने दायित्व मेरो हैन संस्थाको हो

ठगीमा इच्छाराजको बयान : बचतकर्ताको रकम फिर्ता गर्ने दायित्व मेरो हैन संस्थाको हो

काठमाडौँ : सिभिल सहकारीका बचतकर्ताको साढे पाँच अर्ब रकम ठगी गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङले सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने दायित्व आफ्नो नभएको दाबी गरेका छन्।

उनले सरकारी वकिलको रोहबरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसन्धान अधिकारीसमक्ष बयान दिँदै बचतकर्ताको रकम फिर्ता गर्ने दायित्व संस्थाको भएको दाबी गर्दै आफ्नै मात्र एकल दायित्व नहुने दाबी गरेका हुन्।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार सहकारीको नेतृत्वमा आफू एक्लै मात्र नभएको र पछिल्लो समय त्यसको नेतृत्वमा केशवलाल श्रेष्ठ रहेको तर्क गर्दै उनले बचतकर्ताको रकम फिर्ता गर्ने दायित्वबाट पन्छिने प्रयास गरेका छन्।

बयानमा उनले आफ्नो परिवारका सदस्यहरूको नाममा भएको लगानी स्वीकार गरेका छन्। सहकारीबाट ऋण लिएको पनि स्वीकार गरेका छन्। तर सो ऋण कुनै व्यक्तिगत कामका लागि नभई सिभिल होम्स अन्तर्गतका विभिन्न कम्पनीबाट हाउजिङका लागि लिएको र भूकम्प र कोरोनाका कारण अपार्टमेन्टहरू समयमै नबिक्दा सहकारीका बचतकर्ताहरूको बचत रकम फिर्ता गर्न समस्या भएको स्वीकार गरेका छन्।

उनले बयानमा भनेका छन्' बचतकर्ताहरूले बचत गरेको रकम बचतकर्ता सदस्यहरूलाई फिर्ता गर्ने मेरो व्यक्तिगत दायित्व होइन, संस्थाको हो।'

उनको बयानको सम्पादित अंश

हरिहर लामिछाने, प्रकाश कुमार बर्मा, जीवनराज बज्राचार्य, डा.दुर्गा प्रसाद सङ्ग्रौला, सूर्यप्रसाद संगौलासमेतका व्यक्तिहरूबिच छलफल भएर हाउजिङ व्यवसाय गर्न २०५७ मा सहकारी स्थापना भएको हो।

सहकारीमा मैले एक लाख सेयर लगानी गरेको थिए। सञ्चालक समितिले निर्णय गरे अनुसार पटक-पटक  संस्थामा थप सेयर लगानी गरेको छु।

संस्थाको स्थापनाकालदेखि २०६७ सम्म म सञ्चालक समितिको अध्यक्ष थिए। २०७३ सम्म संस्थापक सल्लाहकार थिए। २०६७ देखि अहिलेसम्म सञ्चालक समितिको अध्यक्षमा केशवलाल श्रेष्ठ छन्।

पहिलो चरणमा सिभिल सेभिङ एन्ड क्रेडिट संस्थाले आफ्नै नाममा हाउजिङ परियोजना सुरु गर्न ललितपुर भैसेपाटीमा जग्गा किनेर घर बनाएर बेच्न सुरु गरेको हो।

२०६३ तिर सहकारी संस्थाबाट हाउजिङ व्यवसाय नगर्नु अनि छुट्टै कम्पनी खडा गरी कारोबार गर्नु भनेर आन्तरिक राजस्व विभागको निर्देशनअनुसार सिभिल होम्स प्राली दर्ता गरिएको हो।

एउटै कम्पनीमा ३५ रोपनीभन्दा बढी जग्गा खरिद गर्न नपाइने हदबन्दीको कारण २०६५ पछि सिभिल अपार्टमेन्ट प्रालीसमेत अन्य २१/२२ वटा जति कम्पनीहरू दर्ता गरेका हौँ। अहिले कतिपय कम्पनी बन्द भइसके।

सबै कम्पनीमा सञ्चालक समितिको अध्यक्षमा म र सदस्यमा केशवलाल श्रेष्ठ छन्। 

सहकारीमा करिब २ हजार १ सय बचतकर्ता सदस्य भएको थाहा पाएको हुँ। संस्थाका बचतकर्ता सदस्यहरूलाई करिब सात अर्ब जति रकम फिर्ता गर्नुपर्ने हुनुपर्दछ।

सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेडलाई सिभिल होम्स समेतका कम्पनीबाट करिब पाँच अर्ब जति कर्जा तिर्न बाँकी छ। २०७२ को भूकम्पले कम्पनीले बनाएको अपार्टमेन्टमा ठुलो क्षति पुर्यायो। बनाउन समय लाग्यो।

कोरोना महामारीका कारण घर/अपार्टमेन्ट बिक्री नहुँदा सहकारीको रकम चुक्ता गर्न सकिएन। म संस्थाको अध्यक्ष हुँदा संस्था नियम विनियम बमोजिम संस्थाको नाममा प्रायः जसो जग्गाहरू रजिस्ट्रेसन पारित गरी जग्गामा संस्था र कम्पनीको संयुक्त लगानी भएकाले ऋण लिँदा धितो नराखिएको हो। 

सिभिल बैकमा मेरो ४ लाख ४८ हजार ६ सय संस्थापक सेयर छ। अन्य बैक र संस्थामा पनि सेयर छ। श्रीमती सिर्जना शाक्य, छोरी प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा विभिन्न बैक, वित्तीय संस्था, कम्पनीमा सेयर र काठमाडौँ कीर्तिपुरमा जग्गा छ।

सहकारी ठगीमा उकेरा नजर

मंसिर १७, २०७८ शुक्रबार २०:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।