बागमती प्रदेशमा बानियाँ, केसी र प्रधानको त्रिपक्षीय भिडन्त

हेटौडा : नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिमा तीन जनाले उम्मेदवारी दर्ता गरेका छन्। इन्द्रबहादुर बानियाँ, जगदीश्वरनरसिंह केसी र भीमसेनदास प्रधानले प्रदेश सभापति पदमा उम्मेदवार मनोनयन दर्ता गरेका हुन्।
कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बानियाँले सभापति शेरबहादुर देउवा, केसीले वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रधानले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षको प्यानल नै बनाएर उम्मेदवारी दिए।
बानियाँको प्रस्तावकमा कांग्रेस काभ्रेका सभापति तिर्थ लामा र समर्थकमा भक्तपुरका सभापति दुर्लभ थापा रहेका छन्। केसीको प्रस्तावकमा काभ्रेका पूर्व सभापति मधु आचार्य र समर्थकमा काठमाडौंका सभापति कृष्ण बानियाँ सबुज छन्।
यस्तै प्रधानको प्रस्तावकमा केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँ र समर्थकमा नेपाल विद्यार्थी सङ्घका महामन्त्री कुन्दनराज काफ्ले रहेका छन्।
बानियाँको प्यानलबाट उपसभापतिमा मदनकृष्ण श्रेष्ठ र धर्मराज गौतम, महामन्त्रीमा राजु श्रेष्ठ र तिलक रुवाली, सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ, महेन्द्र थिङ र निरु खड्काले उम्मेदवारी दर्ता गराएका छन्।
केसीको प्यानलबाट उपसभापतिमा नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत र राजेन्द्र बुर्लाकोटी, महामन्त्रीमा रामचन्द्र अर्याल र कञ्चनचन्द्र बादे, सहमहामन्त्रीमा दिलबहादुर तामाङ, ऋषिराम घिमिरे र जीवन डङ्गोलले उम्मेदवारी दिएका छन्।
सभापतिका उम्मेदवार प्रधानको प्यानलबाट उपसभापतिमा चन्द्र महर्जन र परशुराम पोखरेलले उम्मेदवारी दिएका छन्। महामन्त्रीमा सुरेश श्रेष्ठ र गौरी दवाडी, सहमहामन्त्रीमा राजकुमार पाठक, जयनारायण सापकोटा र मोतीमाया तामाङले प्रधानको प्यानलबाट उम्मेदवारी दर्ता गराएका छन्।
अधिवेशन अन्तरगत भोलि शनिबार बिहान ९ बजेदेखि मतदान सुरु हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ। अधिवेशनले प्रदेश सभापति, उपसभापति २ जना, महामन्त्री २ जना, सहमहामन्त्री २ जनासहित ९१ सदस्यीय कार्यसमिति निर्वाचित गर्नेछ। बागमती प्रदेशमा २ हजार १३७ मतदाता छन्।
मंसिर १७, २०७८ शुक्रबार १९:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।