
राप्रपा महाधिवेशनमा भाइरल भयो रेखाको गणतान्त्रिक 'ग्ल्यामर गफ', भाइरल बनाउनेमा थापा समेत

काठमाडौँ : राजनीतिक यात्रामा लाग्नेहरूले कुन बेला के बोल्ने भन्ने हेक्का नराखे समय क्रममा पुराना बोलीले पनि बढो दुख दिन्छ। अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीको उम्मेदवार बनेकी नायिका रेखा थापालाई दुख दिइरहेको छ।
उनी एकता महाधिवेशनमा राजेन्द्र लिङदेनको प्यानलबाट महामन्त्रीको उम्मेदवार बन्दै अहिले चुनावी प्रचारमा व्यस्त छिन्। आफू हिन्दुवादी हुँ भन्नका लागि उनले चुनावी प्रचारमा त्रिशूल आकारको टिका लगाएको तस्बिरको भरपुर उपयोग गरिरहेकी छिन्।
तर लिङदेनको राजनीतिक मान्यता विपरीत उनले एक वर्ष अगाडि दिएको अभिव्यक्तिलाई अहिले उनका प्रतिष्पर्धीहरुले चुनावी माहौलमा भाइरल बनाइरहेका छन्।
लिङदेनको राजनीतिक नारा संवैधानिक राजतन्त्र र हिन्दु राज्य नै हो। अध्यक्षका अर्का प्रतिस्पर्धी कमल थापाले संवैधानिक राजतन्त्र र हिन्दु राज्य स्थापनालागि काम गर्न नसकेको दाबी गर्दै यसलाई चुनावी मुद्दा बनाइरहेका छन्।
उनकै प्यानलकी उम्मेदवार रेखा भने गणतन्त्रको पक्षमा उभिएको अभिव्यक्ति अहिले भाइरल भइरहेको छ। उनको त्यो अभिव्यक्ति हालसालैको भने हैन। एक वर्ष पुरानो हो।
उनले एपीवान टेलिभिजनबाट प्रसारण हुने ग्ल्यामर गफमा दिएको अन्तर्वार्ता अहिले भाइरल भइरहेको हो जसमा उनले राजतन्त्र नभई गणतन्त्रको पक्षमा उभिएकी थिइन्। गणतन्त्रमा उभिनु लिङदेनको नीति विपरीत हो।
हाहाहा! नो कमेन्ट https://t.co/BJVWAPC8P0
— Kamal Thapa (@KTnepal) December 3, 2021
उनले गणतन्त्रको पक्षमा दिएको अभिव्यक्तिलाई भाइरल बनाउन अध्यक्षका प्रत्याशी कमल थापा समेत सक्रिय देखिएका छन्। ट्विटरका प्रयोगकर्ता शशाङ्क शमशेर थापाले रेखाको गणतन्त्रबारे दिएको अभिव्यक्ति मात्र कट गरेर राखेका थिए। उनले थापालाई समेत मेन्सन गरेका थिए। मेन्सनलाई कोट रिट्विट गर्दै थापाले लेखे' हा हा नो कमेन्ट।'
रेखाको विपक्षमा थापा प्यानलबाट कुन्ती शाहीले उम्मेदवारी दिएकी छिन्। उम्मेदवारी दर्तापछि शाहीले रेखाले राजनीति नजानेको अब बिस्तारै राजनीति सिक्ने प्रतिक्रिया दिएकी थिइन्। उनले माओवादीहुँदै राप्रपामा आएको रेखाको पृष्ठभूमि कोट्याउँदै उनी अस्थिर भएको भन्दै उनलाई अब चैँ राप्रपामै टिक्न समेत सुझाव दिएकी थिइन्।
के भनेकी थिइन् रेखाले ?
उनले यो अन्तर्वार्ता दिँदा पार्टी एक भइसकेको थियो। कार्यक्रममा कमल थापा कि विप्लव भनेर सोध्दा उनले उत्तर दिइनन्। प्रचण्ड कि विप्लव भनेर सोध्दा उनले विप्लवलाई छानेकी थिइन्। अर्को विकल्पमा कमल थापा र गगन थापाबिच एक रोज्न दिँदा चैँ कमल थापा रोजेकी थिइन्।
कुराकानीकैक्रममा प्रस्तोताले फिल्म कि राजनीति भनेर सोध्दा उनले राजनीति छानिन्। राजनीति छान्नेकोबारे उनको तर्क थियो' फिल्ममा पनि राजनीति हुन्छ नि।'
विकल्प सोध्दै जाँदा प्रकाश सुवेदीले सोधे'राजतन्त्र कि गणतन्त्र?' उनले गणतन्त्र छानिन्। राप्रपाको नेता भएर गणतन्त्र छानेकोबारे उनको प्रस्टीकरण थियो' मैले आम नागरिकको भाषा बोलेको हो। पार्टीको सिद्धान्त केहीलाई चित्त नबुझेको पनि हुनसक्छ।'
उनले कार्यक्रममा आफू राप्रपाको नेताको रूपमा नबोली कलाकारको रूपमा अन्तर्वार्ता दिन आएकाले अभिनेत्रीको रूपमा आफ्नो धारणा राखेको भन्दै गणतन्त्र रोजेकोबारे व्याख्या गरिन्' गणतन्त्रमा कुनै पनि बच्चा जन्मँदै गर्दा यो देशको कार्यवाहक हुने अधिकार लिएर जन्मन्छ। गणतन्त्रमा लागेको कुरा, वाक स्वतन्त्रता, मालिक बन्ने एक व्यवस्था हो गणतन्त्र। त्यसैले मलाई गणतन्त्र मन पर्छ।'
प्रस्तोताले अर्को प्रश्न सोध्छन्' हिन्दु राष्ट्र कि धर्म निरपेक्ष?'
यसमा भने उनी पार्टीकै लाइनमा उभिएर हिन्दु धर्मको पक्षमा उभिइन्। हिन्दु राष्ट्र देशको पहिचान भएको र ओमकार परिवारका सदस्य धेरै भएकाले नेपाललाई विश्वमा हिन्दु राष्ट्र भनेर चिनाउँदा केही फरक नपर्ने तर्क गरिन्। उनले हिन्दु राष्ट्र बनाउँदा पनि केही फरक नपर्ने तर्क गरिन्।
रेखालाई कुन्तीको काउन्टर : विचरालाई राजनीति नै थाहा छैन, अब चाहिँ सिक्नुहोला
भाइरल भइरहेको भिडियो क्लिपमा उनले धर्मबारे बोलेको राखिएको छैन। उनले गणतन्त्रबारे बोलेको तर्क मात्रै राखिएको छ।
उनले कार्यक्रमको अन्त्यमा कलाकारहरू ग्ल्यामर गफमा कुरा गर्दा आउँदा कन्ट्रोभर्सीमा पर्ने भनेर डराउने गरेको भन्दै अन्तर्वार्ताका साना साना क्लिप भाइरल नबनाउन र भाइरल भएको क्लिप हेरेर मात्र धारणा नबनाई पुरै कुराकानी हेर्न आग्रह समेत गरेकी थिइन्। उनको हकमा पनि अहिले भयो त्यस्तै। उनको आधा घण्टाको कार्यक्रमको केही मिनेट मात्रै भाइरल भइरहेको छ।
अब राप्रपाका प्रतिनिधीहरुले पुरै ग्लामर गफ हेरेर धारणा बनाउँछन् कि त्यही क्लिप हेरेर धारणा बनाएर भोट हाल्छन् त्यो शनिवार बेलुकासम्ममा देखिने छ नै। राप्रपाले अध्यक्षको मतदानमा कागजको मतपत्र प्रयोग गर्दैछ भने अन्य पदमा डिजिटल। यसले शनिवार बेलुकासम्ममा महामन्त्रीको नतिजा आउने निर्वाचन समितिले जानकारी दिएको छ।
मंसिर १७, २०७८ शुक्रबार १८:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।