फो-लेन अलपत्र पार्ने मेयरका छोरालाई शंकर पोखरेलले काखी च्यापेको मेटमणिको आरोप

फो-लेन अलपत्र पार्ने मेयरका छोरालाई शंकर पोखरेलले काखी च्यापेको मेटमणिको आरोप

दाङ : प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले महासचिव शंकर पोखरेल दाङको विकास विरोधी भएको दाबी गरेका छन्।

शुक्रवार एकीकृत समाजवादी दाङको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले जनताले पोखरेललाई दाङ जिल्लाबाट धेरै पटक जनप्रतिनिधिको रूपमा निर्वाचित गरेर पछिल्लो समय लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनाउँदा समेत दाङको विकासले गति लिन नसकेको आरोप लगाए।

‘मैले आज दाङका विभिन्न योजनाहरूको बारेमा चासो राखेर अनुगमन गरे’ उनले भने, ‘सबै योजनाहरू समयमै सम्पन्न हुन नसक्नुमा शंकर पोखरेलको हात रहेछ।’

समयमै काम नगर्ने निर्माण व्यवसायीलाई पोखरेलले काखी च्यापेको तथ्यसमेत फेला पारेको उनले दाबी गरे।

घोराइ–तुलसीपुर सडकको जिम्मा पाएका तुलसीपुर नगरपालिका मेयर घनश्याम पाण्डेका छोरालाई उनै शंकरले काखी च्यापेको आरोप लगाउँदै उनले पोखरेललाई जनताले आगामी निर्वाचनमा देखाइदिने दाबी गरे।

उनले पोखरेललाई दाङका जुनसुकै निर्वाचन क्षेत्रमा आफुसगत निर्वाचन लड्न चेतावनी समेत दिए। चुनावी एकता हुँदा हिजो पनि आफ्नो मतदाता नामावली भएको निर्वाचन क्षेत्रबाट चुनाव हार्ने पक्का भएकोले अर्को निर्वाचन क्षेत्रबाट निर्वाचन लडेको भन्दै उनले अब दाङबाट शंकरले आफ्नो जमानत समेत जोगाउन नसक्ने दाबी गरेका थिए।

एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष समेत रहेका चौधरीले तीन महिनामा तीन लाख जनता पार्टीमा प्रवेश गरेको दाबी गरेका थिए।

मंसिर १७, २०७८ शुक्रबार १६:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।