टेकु अस्पताल : २४ घण्टाको उपचार सेवा सित्तैमा 

टेकु अस्पताल : २४ घण्टाको उपचार सेवा सित्तैमा 

काठमाडौँ : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले आकस्मिक सेवामा शुल्क नलिने भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले सरकारी अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा दिने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएसँगै टेकुमा आकस्मिक सेवा निःशुल्क हुने भएको हो। 

अस्पतालले निःशुल्क सेवा मङ्सिर १९ गतेदेखि लागु हुने जनाएको छ। अस्पतालको निर्देशकमा मन्त्री खतिवडाले डा. मनीषा रावललाई नियुक्त गरेका थिए। निःशुल्क सेवाका लागि आवश्यक पर्ने सहजीकरण र व्यवस्थापन मन्त्रालयले नै गरिदिने जनाएको छ। 

अस्पतालकी निर्देशक डा. रावलले अस्पतालको इमरजेन्सी विभागमा आएका बिरामीको टिकट, परीक्षण र उपचार सबै निःशुल्क हुने व्यवस्था गर्ने पत्र लेखेकी थिइन। 

निःशुल्क सेवामा रगत परीक्षण, एक्स-रे, इसीजी, टिकट लगायतका सुविधा, २४ घण्टा भित्रको परीक्षण सुविधा र लाग्ने औषधी रहेको स्वास्थ्य मन्त्रीको निजी सचिवालयले जनाएको छ। 

सिवीसी, आरबीएस, युरिया क्रियटीभ, सोडियम, पोटासियम, युरिन आरएमइ, स्टुल आरएमइ, एक्स-रे चेस्ट, इसीजी, ब्लड ग्रुपीङ, सिटी लगायतका सेवा निःशुल्क हुने मन्त्री खतिवडाका प्रेस सल्लाहकार शान्तराम बिडारीले जानकारी दिए। 

मंसिर १७, २०७८ शुक्रबार १६:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।