
एकीकृत समाजवादीका सांसद आए एमालेले संसद् चल्न नदिने

काठमाडौँ : सरकारले संसद् बोलाए पनि प्रमुख प्रतिपक्षी दल एमालेले संसद् अवरोध कायमै राख्ने नीति लिने देखिएको छ। यस अगाडिको संसद् एमालेको अवरोधका कारण अगाडि बढ्न सकेको थिएन। सरकारले संसद् अधिवेशन अन्त्य गर्न बाध्य भएको थियो।
सरकारले मङ्सिर २८ बाट संसद् अधिवेशन आव्हान गरेको छ। एमाले अध्यक्ष केपी ओलीले शुक्रवार पदभार ग्रहण गर्दै एमाले विभाजित गरेर बनेको एकीकृत समाजवादीका संसदहरु सांसदमा कायम रहेसम्म संसद् चल्न नसक्ने सङ्केत गरे।
'हामीले निष्कासन गरेका व्यक्तिहरू संसद्मा राखेर संसद् कसरी चल्न सक्छ?,' उनले भने' नियमले गैर सांसदलाई सभामा बस्न दिँदैन । हामीले पार्टीबाट साउन २५ गते नै निष्कासन गरिसकेका व्यक्तिहरू फेरि २८ गते आउँछन् भने त्यो कुरा त फेरि हामीलाई स्वीकार्य हुन सक्दैन।’
उनले सभामुख अग्नि सापकोटाको व्यवहारको आलोचना गर्दै उनी सत्तामा रहेको दलहरूको पक्षमा लागेको आरोप लगाएका थिए। उनले पद बहालीपछि आफ्नो पुरानै माग दोहोर्याउँदै अर्ली इलेक्सन हुनुपर्ने मत राखे।
मंसिर १७, २०७८ शुक्रबार १५:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।