
विष्णु रिमालले बोकेको खाममा के थियो ?

काठमाडौँ : नेकपा एमाले केन्द्रीय कमिटीको अध्यक्षमा निर्वाचित केपी शर्मा ओली पार्टी कार्यालय थापाथली पुगेर पद बहाली गरे।
चितवनमा भएको १० राष्ट्रिय महाधिवेशनबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित ओलीसँग पद बहाली गर्न वरिष्ठ नेता ईश्वर पोखरेल, उपाध्यक्षहरू रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र महासचिव शङ्कर पोखरेलले शुक्रबार पार्टी कार्यालय पुगेका थिए।
यस्तै उपमहासचिव प्रदीपकुमार ज्ञवाली, विष्णु रिमाल पनि पार्टी कार्यालय पुगे। रिमाल महासचिव पोखरेलको कार्यकक्षमा खाम बोकेर पुगेका थिए। हातमा खाम उचाल्दै पुगेका रिमालसँगै उपमहासचिव ज्ञवालीलाई महासचिव पोखरेलले माला लगाइदिए।
एमालेको महाधिवेशनबाट ६ उपाध्यक्षमा सुरेन्द्र पाण्डे, सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल पनि निर्वाचित भएका थिए। उपमहासचिवमा पृथ्वी सुब्बा गुरुङ निर्वाचित भएका थिए।
पार्टी कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक, सहमति, सर्वसम्मति र निर्विरोधका सबै खालका अभ्यासबाट परिणाम अत्यन्त राम्रो आएको बताए। ओलीले प्रस्ताव गरेको सर्वसम्मत अध्यक्षको प्रस्तावमा भीम रावलले अस्वीकार गरेपछि लोकतान्त्रिक अभ्यास भएको थियो।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको केन्द्रीय कार्यालय अब व्यवस्थित ढङ्गले सञ्चालन गर्ने प्रतिक्रिया दिएका थिए। कार्यक्रममा रिमालले बोकेको खाममा के थियो भन्ने खुलेन। यस विषयमा जानकारी लिन उनलाई उकेराले सम्पर्कको प्रयास गरेको थियो तर उनले कल उठाएनन्।
मंसिर १७, २०७८ शुक्रबार १५:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।