निर्वाचन परिणामपछि लिङ्देनलाई पनि साथै लिएर अघि बढ्छु : कमल थापा

निर्वाचन परिणामपछि लिङ्देनलाई पनि साथै लिएर अघि बढ्छु : कमल थापा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष एवं अध्यक्षका प्रत्यासी कमल थापाले अब पार्टी फुटको शृङ्खला अन्त्य भएको दावी गरेका छन्।

अध्यक्ष पदका लागि उम्मेदवार मनोनयन दर्ता गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले भने, राप्रपाको आगामी नेतृत्वको मुल काम पार्टी एकतालाई अक्षुण्ण राख्ने, राष्ट्रियता, लोकतन्त्र र उदारवादको सिद्धान्तलाई परिपक्व बनाएर लैजाने र आगामी निर्वाचनमा राप्रपालाई सम्मानजनक रुपमा सफलता हासिल गराउनु हुनेछ।'

धर्मपरिवर्तन, भ्रष्टाचार एवं बेरोजगारीको अन्त्य गर्नसक्ने एउटा सशक्त शक्ति निर्माण गर्न आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको थापाले बताए।

पटकपटक टुटफुट र विभाजनको पीडाबाट गुज्रिएको राप्रपा आगामी दिनमा राप्रपा कहिल्यै नफुट्ने दावी गर्दै थापाले भने, 'पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र मैले प्रतिवद्धता गरेका छौं, आगामी दिनमा पार्टीलाई फुट्न दिने छैनौं।'

निर्वाचनबाट आएको परिणामलाई स्वीकार गर्दै अघि बढ्ने बताएका थापाले राजेन्द्र लिङ्देनले जित्न सक्ने सम्भावना नरहेको र आफ्नो जितपछि उहाँलाई समेत समेटेर अगाडि बढ्ने प्रतिवद्धता जनाएका थिए।

मंसिर १७, २०७८ शुक्रबार १३:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।