राप्रपा महाधिवेशन : नेतृत्वका आकाङ्क्षीले प्रतिनिधि थप्दा विवाद, चुनावी प्रक्रिया सुरु भएन 

राप्रपा महाधिवेशन : नेतृत्वका आकाङ्क्षीले प्रतिनिधि थप्दा विवाद, चुनावी प्रक्रिया सुरु भएन 

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महाधिवेशन प्रतिनिधिको संख्यामा विवादको कारण निर्वाचन प्रक्रिया सुरु हुन सकेको छैन।

महाधिवेशन प्रतिनिधिको नाममा पार्टी अध्यक्ष कमल थापा र राजेन्द्र लिङ्देन समूहबीच विवाद भएपछि निर्वाचन प्रक्रिया नै सुरु हुन नसकेको हो। 

विवादका कारण निर्वाचन समितिले निर्वाचन प्रक्रिया अघि बढाउन पाएको छैन। ‘अब एक घण्टामा निर्वाचन तालिका प्रकाशन हुन्छ,’ निर्वाचन समिति संयोजक हरिबहादुर बस्नेतले उकेरासँग भने। नेताहरुबीच सहमति भएको हो भन्ने प्रश्नमा उनले भने ‘सहमति हुँदै छ,आजै निर्वाचन प्रक्रिया अघि बढ्छ र कार्यतालिका आउँछ हामी तयारीमा छौँ।’

अध्यक्ष कमल थापाले एकलौटी रूपमा जिल्लाबाट आएका मतदाता नामावली हेरफेर गरेको आरोप लिङ्देन पक्षले लगाएको छ। भक्तपुर, सर्लाही, काठमाडौँ, पर्वतलगायत जिल्लाबाट आएको सूचीका विषयमा विवाद भएको हो। 

डा. प्रकाशचन्द्र लोहनी र प्रदेश नम्बर–२ का नेता रामचन्द्र रायका कारण प्रतिनिधि सहभागितामा विवाद भएको थापा पक्षको आरोप छ। चार हजार ५ सयको हाराहारीमा विभिन्न समुदायबाट महाधिवेशन प्रतिनिधिहरू सहभागी हुने विधानको व्यवस्था छ। ३३० प्रदेशसभा क्षेत्रीय अधिवेशनबाट प्रतिनिधि चुन्दा केही क्षेत्र खाली छोडिएको थियो। त्यो खाली क्षेत्रमा अध्यक्ष थापाले एकलौटी आफू पक्षीय महाधिवेशन प्रतिनिधि चुनेको लिङ्देन पक्षको आरोप छ।

खाली छोडिएको महाधिवेशन प्रतिनिधिहरूमा महिला, दलित, अल्पसङ्ख्यकलगायत कोटाबाट रहेका छन्। जसमा थापाले आफूखुसी नाम हालेर विवाद सिर्जना गरेको लिङ्देनपक्षको आरोप छ। 

शीर्ष नेतृत्व भने महाधिवेशनमा आफ्नो पल्लाभारी बनाउन व्यस्त छन्। थापा पक्षीय नेता भुवन पाठक पनि महाधिवेशन प्रतिनिधिको विषयमा विवाद रहेको स्वीकार गर्छन्।

‘प्रतिनिधिहरूको विषयमा केही विवाद छन्, त्यसले निकास पाएपछि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुन्छ। छलफल जारी छ, म बाहिर छु। निष्कर्ष के आयो थाहा छैन।’ पाठकले उकेरासँग भने। 

निर्वाचन समितिले अहिले जिल्ला–जिल्लाबाट आएका र विवाद भएका महाधिवेशन प्रतिनिधिहरूको नामावली सच्याउने काम गरिरहेको जानकारी दिएको छ।

मंसिर १६, २०७८ बिहीबार १७:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।