विद्यालयतहदेखि नै बुद्ध शिक्षा लागु गर्न राष्ट्रपतिको जोड

विद्यालयतहदेखि नै बुद्ध शिक्षा लागु गर्न राष्ट्रपतिको जोड

बुटवल :  राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धकालीन ज्ञान र शिक्षालाई विद्यालय तहदेखि उच्च तहको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताएकी छिन्। लुम्बिनी विश्वविद्यालयको १७ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गदै उनले मुलुकको मौलिक परम्पराको विकसित भएको बुद्धकालीन ज्ञान र शिक्षालाई विद्यालय तहदेखि उच्च तहको पाठ्यक्रममा समावेश गर्दै समय सापेक्ष तुल्याउनुपर्ने बताइन। 

उनले बुद्धझैँ शिक्षा र उपदेशलाई पाठ्यक्रममा यथाशक्य समावेश गर्न नेपालका सबै विश्वविद्यालयलाई सुझाव समेत दिइन। राष्ट्रपति भण्डारीले कपिलवस्तु, नवलपरासी र रुपन्देहीसँगै देशभर फैलिएका बुद्ध र बौद्ध शिक्षा सम्बन्धी पुरातात्त्विक, सांस्कृतिक सम्पदाको उत्खनन, संरक्षण तथा सम्बद्र्धन गर्न अग्रसर हुनुपर्ने समेत बताइन ।

लुम्बिनी क्षेत्रमा जमिन मुनि दबिएका कतिपय पुरातात्त्विक एवं सांस्कृतिक महत्त्वका बस्तुहरू अझै सम्म फेला परिरहेकाले यीनको थप अन्वेषणमा सम्बन्धित निकायले ध्यान पुर्याउनु पर्ने उनको भनाई थियो ।

विश्व सम्पदा सूचिमा सूचीकृत लुम्बिनीका मूर्त तथा अमूर्त सम्पदाहरू विश्वका अमूल्य निधी भएकाले यसको दिगो संरक्षण तथा सम्बद्र्धन गर्न लुम्बिनी विकास गुरुयोजना तर्जुमा भएको स्मरण गर्दै राष्ट्रपति भण्डारीले गुरुयोजना कार्यान्वयनमा विलम्ब हुनुको कारण पत्ता लगाएर त्यसको कार्यान्वयन चाँडो गर्न आग्रह गरिन। 

‘गुरुयोजना कार्यान्वयन छिटो भएमा लुम्बिनी एक उत्कृष्ट अन्तर्राष्ट्रिय सांस्कृतिक पर्यटकीय स्थल बन्नेछ। मुलुककै अर्थतन्त्र सुदृढीकरणमा टेवा पुराउने छ,’ उनले भनिन्। सो अवसरमा राष्ट्रपतिले ९ करोड २० लाख लागतमा निर्माण भएको केन्द्रीय पुस्तकालय भवनको उद्घाटन गरेकी थिइन।

मंसिर १६, २०७८ बिहीबार १५:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।