पशुपति शमशेरलाई समूह जोगाउन सकस , थापा र लिङदेनतिर बाँडिए नेताहरू

काठमाडौँ : अध्यक्षमा उम्मेदवारी नदिने घोषणा गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणा अध्यक्षका प्रत्याशीमध्ये कतातिर लाग्ने खुलेका छैनन्। उद्घाटन शत्रमा उनले सर्वसम्मत रूपमा अध्यक्ष चयनका लागि कमल थापा र राजेन्द्र लिङदेनलाई आग्रह गरेका थिए।
अर्का अध्यक्ष प्रकाशचन्द्र लोहनी लिङदेनको पक्षमा खुलिसकेका छन्। तर राणाको समर्थन कता यकिन नहुँदा उनको समूहका नेता अध्यक्षका दुवै प्रत्याशीमा बाँडिएका छन्।
राणाले मुख नखोले पनि उनी पक्षका ध्रुवबहादुर प्रधान भने खुलेरै थापालाई साथ दिइरहेका छन्। उनी थापा समूहबाट उपाध्यक्षको उम्मेदवार बन्ने तयारीमा छन्। विक्रम पाण्डे प्रारम्भदेखि नै थापाको पक्षमा छन्। राप्रपाका संस्थापक नेता लोकेन्द्र बहादुर चन्द मौन छन्। तर उनको छोरा जयन्त भने थापाको प्यानलमै छन्।
सूर्यबहादुर थापाका छोरा यस अगाडि नै काँग्रेसमा प्रवेश गरिसकेका छन्। त्यसैले यो महाधिवेशनमा थापा फ्याक्टरको प्रभाव देखिन्न। अर्का नेता पद्मशुन्दर लावतीका छोरा सगुनशुन्दर लावती भने लिङदेनको पक्षमा छन्। धवल शमशेर लिङदेनको पक्षमा खुलिसकेका छन्। रवीन्द्र प्रताप शाह पनि लिङदेन पक्षमा खुलेका छन्।
राप्रपाका पुराना नेता बुद्धिमान तामाङ पहिल्यैदेखि थापाको पक्षमा छन्। भुवन पाठक लगायत राप्रपा नेपालका नेताहरू थापाकै पक्षमा छन्। नायिका रेखा थापा महामन्त्री हुने गरी लिङदेनको पक्षमा खुलिसकेकी छिन्।
राणा र चन्द सकेसम्म सर्वसम्मत नेतृत्व चयनको पक्षमा छन्। तर यी दुवै नेतासँग थापाको सम्बन्ध त्यति हार्दिकतापूर्ण रहेको छैन। यस अगाडि पार्टी एक भइसक्दा पनि राणा र थापाबिच कुरा नमिल्दा पार्टी विभाजित भएको थियो।
चन्दको नेतृत्वमा बनेको सरकार थापाकै कारण ढल्दा उनले थापालाई मुसाको संज्ञा दिएका छन्। संस्थापक नेतामध्ये जीवित उनी मात्र हुन्। यस अगाडि एकता गर्दा पनि विवादले एकता नटिकेको र अहिले एकता महाधिवेशन भएकाले प्रतिस्पर्धाको आधारमा भन्दा पनि एक कार्यकाल सर्वसम्मत नेतृत्व चयनमा उनले जोड दिएका छन्।
स्रोतका अनुसार निर्वाचन भएको खण्डमा उनी कता खुल्छन् यकिन छैन। लिङदेन समूह उनी संस्थापक भएकाले कुनै समूहमा नखुली सम्मानित नेताको रूपमा बस्न सुझाव दिइरहेका छन्। तर उनको छोरा थापा समूहबाट पदाधिकारीकै उम्मेदवार बन्ने तयारीमा रहेकाले उनलाई थापा समूहतिर खुल्न दबाब भने देखिन्छ।
मंसिर १६, २०७८ बिहीबार १५:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।