गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सरकारले जानाजान ढिलाइ गरेको आरोप

बुटवल : एमाले उपाध्यक्ष विष्णु पौडेलले भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको काम छिटो सुरु गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
लुम्बिनी बौद्ध विश्वविद्यालयको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो फेजको काम अन्तिम चरणमा भए पनि दोस्रो चरणको काम सुरु गर्न सरकारले चासो नलिएको भन्दै छिटो सुरु गर्न उनले ध्यानाकर्षण गराए।
दोस्रो चरणको काम अन्तर्गत टर्मिनल भवन सहित अन्य पूर्वदारका लागि ५ सय बिघा जग्गा अधिग्रहण भएको बताउँदै सरकारले एसियाली विकास बैङ्क (एडिबी)सँग सम्झौता गरेर काम अगाडि बढाउन आग्रह गरे।
दोस्रो चरणको टर्मिनल भवन बनाउन १४ अर्बको गुरुयोजना निर्माण सम्पन्न भइसकेको बताउँदै रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य समेत रहेका पौडेलले विमानस्थलको उद्घाटन र दोस्रो चरणको शिलान्यास एकै पटक गर्ने गरी काम अगाडि बढाउन सरकारलाई आग्रह गरे।
उनले लुम्बिनीको गुरुयोजना ४० वर्ष सम्म पनि पुरा नभएको बताउँदै गुरुयोजनाको कार्यान्वयनमा पनि सरकारीले प्रभावकारी काम गर्न आग्रह गरे। पूर्ववर्ती सरकारले गुरुयोजनाको बाँकी काम सम्पन्न गर्न ७ अर्ब ३३ करोड बजेट सुनिश्चित गरेको बताउँदै यस रकमको सही सदुपयोग गरेर गुरुयोजनाको कार्यान्वयन हुनुपर्नेमा उनले जोड थियो।
मंसिर १६, २०७८ बिहीबार १४:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।