सर्लाही, मकवानपुर र कास्कीबाट लागूऔषधसहित पक्राउ

काठमाडौंः नेपाल प्रहरीले सर्लाही, मकवानपुर र कास्कीबाट लागूऔषधसहित विभिन्न व्यक्तिलाई पक्राउ गरेको छ। मकवानपुरको मनहरी गाउँपालिका-७ मनहरी पुल छेउबाट करिब ५.१ किलोग्राम अवैध लागूऔषध गाँजासहित कैलाश गाउँपालिका-८का २८ वर्षीय शिशिर भन्ने जगत थिङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनलाई लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।
यस्तै सर्लाही, हरिवन नगरपालिका-६ चार्लिक नहरबाट करिब ७ किलोग्राम अवैध लागूऔषध गाँजासहित बागमती नगरपालिका-२ बस्ने २३ वर्षीय खवाङ तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। ना१०प ६९६७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय हरिवन र सशस्त्र प्रहरी सुरक्षा बेस धरहराबाट संयुक्त रूपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक तामाङलाई पक्राउ गरेको हो।
यता कास्कीको पोखरा महानगरपालिका-१७ छोरेपाटनबाट लागूऔषध ९६ एम्पुल डाईजेपाम, ९६ एम्पुल फेनारगन, ९७ एम्पुल नुर्फिन, नगद २ हजार २ सय ३० रुपैयाँ र ३ थान मोबाइलसहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-१५ रामबजार बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका पवैगौंडे घर भएका २८ वर्षीय जोनी गुरुङ र तनँहु शुक्लागण्डकी नगरपालिका-१६ ढोरबाराही बस्ने २६ वर्षीय पूर्णबहादुर गुरुङ रहेका छन्। ग२१प ५६३३ नम्बरको स्कुटरलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले लागूऔषधसहित पक्राउ गरेको हो।
पक्राउ परेकाहरूविरुद्ध प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।
मंसिर १६, २०७८ बिहीबार १२:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।