मुस्ताङ प्रवेश गर्न पूर्ण खोप वा पीसीआर नेगेटिभ अनिवार्य

मुस्ताङः कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन'को बढ्दो प्रभावसँगै मुस्ताङ जिल्लाले सङ्क्रमण रोकथामको उपाय अपनाएको छ। अब मुस्ताङ प्रवेश गर्न अनिवार्य पूर्ण खोप लगाएको हुनुपर्ने अथवा पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्नेछ।
मुस्ताङमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको छ। प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै मुस्ताङ प्रवेशमा कडाइ गरिएको हो।
पर्यटकको हकमा मुस्ताङ प्रवेशका लागि सात दिनभित्रको पीसीआर नेगेटिभ रिपोर्ट वा पूर्ण मात्राको खोप कार्ड वा पछिल्लो ७२ घण्टाभित्रको एन्टिजेन परीक्षण रिपोर्ट हुनुपर्नेछ। मुस्ताङमा स्थायी बसोबास गर्दै आएकाहरू तथा पूर्ण खोप लगाएका कर्मचारी, शिक्षक र सुरक्षाकर्मीहरूका लागि भने यो सर्त लागू नहुने जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ।
यो नियम मङ्सिर १५ गते राति १२ बजेदेखि २९ गते राति १२ बजेसम्म लागू हुने प्रजिअ शर्माले बताए।
जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले सार्वजनिक स्थलमा मेला, जात्रा, महोत्सव, भोजभतेर, हाटबजार लगायतका भीडभाड हुने खालका कार्यक्रम नगर्न पनि आदेश दिएको छ।
मंसिर १६, २०७८ बिहीबार ०७:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।