औद्योगिक मैत्री वातावरणको अभाव: शेरचन

बुटवल : लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले औद्योगिक मैत्री वातावरणको अभाव रहेको बताएका छन्। रुपन्देही उद्योग सङ्घ बुटवलको ४४ स्थापना दिवसमा आयोजित विशेष कार्यक्रममा बोल्दै उनले नेपालमा औद्योगिक क्षेत्रको विकासका लागि राजनीतिक दल र उद्योगीहरूमा रहेको परनिर्भरको भावनाको अन्त्य हुनुपर्ने बताएका थिए।
उनले औद्योगिक क्षेत्रको लागि आवश्यक औद्योगिक मैत्री वातावरण बनाउन नसक्दासम्म राष्ट्रिय उद्योगको विकास हुन सक्दैन भन्दै मुहानमा शुद्ध राख्न आग्रह गरे।
प्रदेश प्रमुख शेरचनले राष्ट्रिय अर्थतन्त्रको निर्माण र स्वदेशी श्रमको सदुपयोग आजको राष्ट्रिय आवश्यकता रहेको बताउँदै वास्तविक धरातलमा बसेर चिन्तन गर्नुपर्ने सुझाव दिएका थिए।
उनले राजनीतिक दलहरूप्रति इंंगित गर्दै राष्ट्रलाई हेर्ने दृष्किोणमा त्रुटि भएका कारण र विदेशीको गुलामी गर्ने प्रवृत्तिले वास्तविक समस्याहरू समाधान हुन नसकेको बताएका थिए।
राष्ट्रिय पुँजीको संरक्षण र विकासका लागि नीतिगत रूपमा स्पष्ट हुँदै वास्तविक राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न आग्रह गर्दै उनले प्रतिस्पर्धाको युगमा आफूलाई त्यसै अनुसार उभ्याउन सक्नुपर्ने बताए।
कार्यक्रममा बोल्दै प्रदेश राष्ट्रिय योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले नेपालमा स्वदेशी उद्योगको स्थापना र विकासका लागि बनेका नीतिमा केही राम्रा कुरा भए पनि त्यसको सही कार्यान्वयन एवं प्रयोग गर्न नसकिएको बताए।
कार्यक्रममा नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश संयोजक एजाज आलमले उद्योग सङ्घले आफू र आफ्नो ब्रान्ड स्थापित गर्न धेरै समय खर्चको स्मरण गर्दै स्वदेशी उत्पादनको प्रयोग गर्ने कुरालाई प्राथमिकतामा राख्न आग्रह गरे।
सङ्घका अध्यक्ष माधव प्रसाद पौडेलले मुलुकको आर्थिक मेरुदण्डको रूपमा रहेको औद्योगिक क्षेत्रले निकै कठिन परिस्थितिको सामना गरिरहेको बताउँदै राज्यको प्रभावकारी भूमिका, निजी क्षेत्रको सक्रियता र उपभोक्ताको साथ र सहयोग विना मुलुकले औद्योगिक विकास हुन नसक्ने बताए।
सो अवसरमा सङ्घले अग्रज उद्योगीहरू भुपाल कुमार श्रेष्ठ, बसन्तध्वज जोशी, स्व.रतनलाल अग्रवाल, वसन्त लोहनी र राजेन्द्रसिंह गुरुङलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यसै गरी सङ्घले स्थापना गरेको उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार–२०७७ बाट पत्रकार दामोदर खनाललाई पुरस्कृत गरिएको थियो।
मंसिर १५, २०७८ बुधबार १८:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।