कमल थापालाई सबक सिकाउने निर्मल निवासको रणनीति

काठमाडौँ : संवैधानिक राजतन्त्रलाई केवल सत्तामा जानका लागि मात्र प्रयोग गरेको भन्दै राजतन्त्र पक्षधर समूह कमल थापासँग रिसाएको लामै समय भयो। दरबारले हुन्न भन्दाभन्दै जब थापा एमालेको नेतृत्वको सरकारमा गएर परराष्ट्र मन्त्री भए त्यही देखिनै दरबार निकट शक्ति थापासँग चिढिएको थियो।
दोस्रो संविधान सभाको निर्वाचनमा तेस्रो शक्तिको रूपमा उदाए पनि २०७४ को निर्वाचनमा कमजोर बन्नुको कारण दरबार पनि थियो। थापाले बुधवार भृकुटीमण्डपमा आयोजित कार्यक्रममा निर्वाचनको मुखैमा पार्टी विभाजित हुँदा त्यसको असर निर्वाचनमा परेको स्विकारे। उनले बारम्बार दरबारसँग निकट भएकाहरूले राप्रपामा खेल्दा पार्टी विभाजित भएको बताउँदै आएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन आजबाट सुरु भएको छ। दरबार निकट शक्ति थापालाई यही महाधिवेशनबाट पाठ सिकाउने रणनीतिमा देखिएको छ। त्यही रणनीतिको उपज हो थापा निकट राजेन्द्र लिङदेनको अध्यक्षमा दावेदारी।
'थापाले पटक-पटक दरबारको नाम जोडेर आफ्नो स्वार्थ मात्र पुरा गरे। अब उनीबाट संवैधानिक राजतन्त्रको मुद्दा अगाडि बढ्न सक्दैन,' लिङदेनलाई अध्यक्ष बनाउने रणनीतिमा सक्रिय एक नेताले भने' दरबारले उनको साथ छाडिसकेको छ। लिङदेनको पक्षमा दरबार खुलेको त छैन तर जितुन् भन्ने सदिच्छा भने छ।'
जानकार स्रोतका अनुसार लिङदेन र धवल शमशेर राणा एकै समूहमा आएपछि थापाले पूर्व राजा ज्ञानेन्द्रसँग भेट गरेर आफ्नोबारे धारणा बुझ्ने प्रयास गरेका थिए। भेटमा ज्ञानेन्द्र प्रस्ट खुलेनन्। उनले कुनै पनि राजनीतिक दलको आन्तरिक विषयमा आफ्नो चासो नरहने भन्दै उनलाई शुभकामना दिएका थिए।
भेटमा थापाले पूर्व राजा ज्ञानेन्द्रको नाम लिएर दरबार निकट केही व्यक्तिहरू लिङदेनलाई अध्यक्ष बनाउन लागेको भन्दै यसले आफूलाई अप्ठ्यारो परेको बताएका थिए। जवाफमा ज्ञानेन्द्रले 'कसैले त्यस्तो गरेका छन् भने म हेरौँला। एकता महाधिवेशन सफल होस्। मेरो शुभकामना छ' भनेर पठाएका थिए।
ज्ञानेद्रले प्रस्ट नबोले पनि निर्मल निवास यो पटक आफ्नो पक्षमा नभएकोबारे थापा जानकार छन्। त्यसैले उनी पटक पटक पहिला दरबारले खेल्दा नै एक भइसकेको राप्रपा विभाजित भएको भन्दै यसपालिको एकता महाधिवेशनमा चलखेल नगर्न सार्वजनिक रूपमा आग्रह गरेका छन्।
लिङदेनको पक्षमा पूर्व राजा रहेको प्रत्यक्ष सन्देश बाहिर जाँदा सकारात्मक सन्देश नगएको देखेपछि ज्ञानेन्द्रका स्वकीय सचिव सागर तिम्सिना सक्रिय भएका थिए। उनले ज्ञानेन्द्रले कुनै दलको कुनै नेता विशेषमा चासो नरहेको र सबै दल उनकै दल भएको प्रतिक्रिया दिएका थिए।
तिम्सिनाले जे दाबी गरे पनि राप्रपाका अध्यक्ष पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनी उम्मेदवारी नदिने निर्णयमा पुग्नुमा दरबारको सक्रियताकै कारण रहेको थापा समूहको निष्कर्ष छ। लोहनीले त खुलेरै लिङदेनको समर्थन गरिसकेका छन्। राणाले थापा र राणालाई मिलेर जान सुझाव दिएका छन्। खुलिसकेका छैनन्। तर अन्तिममा उनको समूहले पनि लिङदेनलाई समर्थन गर्ने देखिन्छ।
उम्मेदवारी घोषणापछि लिङदेनले समेत पूर्व राजा ज्ञानेद्रसँग भेटेर सहयोग मागेका थिए। ज्ञानेद्रले उनलाई जितको शुभकामना दिएर पठाएका थिए।
राप्रपाका पुराना नेता लोकेन्द्र बहादुर चन्दले समेत खुलेर थापालाई समर्थन गरेका देखिँदैन। ध्रुवबहादुर प्रधान लगायतका नेताहरूले थापालाई साथ दिने सङ्केत गरेका छन्। सात प्रदेशमध्ये प्रदेश नम्बर २ का अध्यक्ष खुलेका छैनन्। बाँकी ६ वटा प्रदेशका अध्यक्षहरू थापाको पक्षमा खुलेका छन्।
लोहनी समूहले खुलेरै समर्थन गर्नु र राणा थापाको पक्षमा मौन बस्दा लिङदेन बलियो उम्मेदवार देखिएका छन्। सगुन लावती लगायतका दोस्रो तहका नेताहरू समेत लिङदेनको पक्षमा देखिएका छन्। उनीहरूले भेला राखेरै लिङदेनलाई समर्थन गर्ने निर्णय गरेका छन्।
मंसिर १५, २०७८ बुधबार १७:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।