अभूतपूर्व कीर्तिमान: मेस्सीलाई सातौं पटक 'बलोन डि ओर'

काठमाडौंः विश्वचर्चित फुटबलर लियोनल मेस्सीले सातौं पटक 'बलोन डि ओर' जितेका छन्। सोमबार मध्यराति उनले सातौं पटक बलोन डि ओर जित्ने विश्वकै एक मात्र खेलाडीको कीर्तिमान रचेका हुन्।
क्लब फुटबलमा यस वर्ष खासै नजमे पनि मेस्सीले अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताएका थिए। जानकारहरूका अनुसार उनको मूल्यांकनमा यही कुराले महत्त्वपूर्ण भूमिका खेल्यो। उनी स्पेनिस लिगमा 'टप स्कोरर' पनि रहे भने बार्सिलोनाले 'कोपा डेल रे' जित्दा व्यक्तिगत दुई गोल पनि गरेका थिए।
'म पुनः एक पटक बलोन डि ओर जित्दा निकै गर्व महसुस गरिरहेको छु। म मेरो परिवार, मेरो साथीहरू र सबै मेरा समर्थकहरूलाई धन्यवाद दिन चाहन्छु। उहाँहरूबिना मैले उपाधि जित्न सक्ने थिइनँ', मेस्सीले भने।
यता मेस्सीले सातौं बलोन डि ओर जित्दा एलेक्सिया पुटेलासले बलोन डि ओरको महिलातर्फको उपाधि जितिन्।
मेस्सीले यसअघि सन् २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा बलोन डि ओर जितेका थिए। यस पटक भने उनले बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्कीलाई पछि पार्दै उपाधि जितेका हुन्।
यस्तै मेस्सीले गत वर्ष महामारीका कारण बलोन डि ओर रद्द नभएको भए लेवान्डोस्कीले जित्ने दावी पनि गरेका थिए।
मंसिर १४, २०७८ मंगलबार ०८:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।