वैदेशिक रोजगारीमा सम्झौताअनुसार सुविधा नदिने कम्पनीलाई कालो सूचीमा राखिने

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई सम्झौताअनुसार सेवा सुविधा नदिने कम्पनीलाई कालो सूचीमा राखिने बताएका छन्।
वैदेशिक रोजगारीबाट फर्किएकाहरूसँग वैदेशिक रोजगारी र पुन:एकीकरणबारे मन्त्रालयमा सोमबार भएको छलफलमा मन्त्री श्रेष्ठले सम्झौता अनुसार सेवा सुविधा नदिने कम्पनीलाई कालो सूचीमा राखिने र त्यस्ता कम्पनीहरूमा कामदार नपठाइने बताए।
वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूले कोरोना महामारीका कारण रोजगारी गुमाएर फर्कँदा बाँकी पारिश्रमिक समेत नपाएको गुनासो गरेका थिए। उनीहरूले सम्झौताअनुसार काम र पारिश्रमिक नपाएको, बिरामी हुँदा उपचार नपाएको तथा नेपाल फर्कनुपर्दा चन्दा सङ्कलन गर्नुपरेको बताएका थिए।
उनीहरूले हातमा सीप नहुँदा विदेशी भूमिमा दुःख पाएको र अन्य देशका श्रमिक सरह सुविधा नपाएको गुनासो गरेका थिए । गैर कानुनी बाटोबाट गएका घरेलु कामदारहरूले न्यून तलबमा काम गर्नुपरेको तथा हिंसाको सिकार भएको गुनासो गरेका थिए ।
कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूका साथै आप्रवासी कामदारको पक्षमा काम गरिरहेका संस्थाका प्रतिनिधिहरू समेत सहभागिता थिए। कार्यक्रममा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीबाट फर्किने श्रमिकलाई पुनर्मिलन, सामाजिक तथा आर्थिक सशक्तीकरण गर्दै अगाडि बढाउने सरकारको योजना रहको बताए।
मंसिर १३, २०७८ सोमबार १६:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।