ललितपुर साकोस समिट : सहकारीको सन्दर्भ ब्याजदर निर्धारण गरिने

काठमाडौँ : उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक सामाजिक रूपान्तरणको आधार सहकारी भएको बताएका छन्।
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घको आयोजनामा भएको चौथो ललितपुर साकोस समिटमा उपराष्ट्रपति पुनले आत्मनिर्भर अर्थतन्त्रका लागि सहकारी पहिलो माध्यम बन्नुपर्ने बताए।
सहकारीमार्फत अधिकतम पुँजी प्रयोग गरी आर्थिक विकासमा जोड दिन आवश्यक भएको उनले सुनाए।
सहकारीमा विकृति, विसङ्गति भित्रिएको भन्दै निराकरणका लागि सहकारी अभियान र राज्य चनाखो हुनुपर्ने उपराष्ट्रपति पुनको भनाइ थियो।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सहकारी समाजवादको आधार भएको बताइन्। समाजमा सहकारीले रचनात्मक काम गरेको भए पनि केही बदमासी र खराबीका कारण यस क्षेत्र बदनामी हुन पुगेको उनले सुनाइन।
उनले सहकारी निक्षेप र कर्जा दुवैमा ब्याज घटाउन सुझाव दिइन्। राज्यले १४.७५ प्रतिशत सन्दर्भ ब्याजदर निर्धारण गरे पनि अझै कम गरेर उद्यमशीलतामा प्रोत्साहित गर्नुपर्ने मन्त्री भुसालले बताइन।
परनिर्भरता हटाउन सहकारीले अब लगानी बढाउनै पर्छ
कृषिमा ६८ प्रतिशत जनता आश्रित भए पनि बर्सेनि २ खर्ब भन्दा बढी कृषिजन्य वस्तु आयात हुनु दुखद भएको उनले बताइन्। उनले खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था गर्न प्राथमिकता दिएको उनले बताइन् ।
जलविद्युतमा सहकारीको लगानी बढाउनुपर्नेमा उनले जोड दिइन्। ‘अब सहकारीले जलविद्युतमा लगानी गर्दै विद्युतीय चुल्हो प्रयोगमा जोड दिनुपर्छ’उनले भनिन्,‘हरेकको घरमा इन्डक्सन चुल्हो प्रयोग गरेर ४२ अर्बको एलपी ग्यासको आयात रोक्न सकिन्छ।’
सहकारी विभागका रजिस्ट्रार झलकराम अधिकारीले अनुगमन प्रभावकारी बनाउन लागिपरेको बताए। ‘अनुगमन गर्ने अधिकार राज्यलाई मात्र छ’ उनले भने,‘सङ्घहरूले नियमन गर्न खोज्नु उपयुक्त छैन।’
सहकारीहरूले कम्तीमा ६/६ महिनाभित्र वित्तीय विवरण प्रकाशित गर्नुपर्ने
रजिस्ट्रार अधिकारीले सन्दर्भ ब्याजदर निर्धारण गर्न छलफल भइरहेको जानकारी दिए। बजारको विश्लेषण गरेर सन्दर्भ ब्याजदर निर्धारण गरिने उनले बताए। रजिस्ट्रार अधिकारीले आर्थिक विकासमा सहकारीलाई हिँडाउन भिजन पेपर निर्माण गर्न लागिएको पनि बताए।
राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलले केही सहकारीमा समस्या आएको भन्दै सहकारी र राज्य मिलेर समस्या निराकरण गर्नुपर्ने बताए।
३० हजार सहकारीमध्ये १४ हजार सहकारी बचत तथा ऋणको रहेको उनले तथ्याङ्क दिए।
महासङ्घका पूर्व अध्यक्ष दीपकप्रकाश बास्कोटाले सहकारीमार्फत छरिएको पुँजी एकीकृत गरी राष्ट्र विकासमा लगाउनुपर्ने बताए।
स्वदेशी पुँजी लगानी हुन नसकिरहेको अवस्थामा वैदेशिक ऋण र वैदेशिक लगानीमा प्राथमिकता दिन नहुने बास्कोटाले बताए। ‘पुँजी उपयोग गर्न सके वैदेशिक ऋण आवश्यक पर्दैन,’उनले भने,‘परनिर्भरता हटाउन सहकारीले अब लगानी बढाउनै पर्छ।’
राष्ट्रिय सहकारी बैङ्कका अध्यक्ष केबी उप्रेतीले स्थानीय तहले सहकारीलाई प्राथमिकता दिन नसकेको बताए। सहकारी क्षेत्रमा सञ्चालकको मनपरी रहेको, सुशासनमा हिँड्न नसकेको गुनासो आउने भएकाले त्यसलाई रोक्नु पर्ने उप्रेतीले बताए।
वित्तीय बजारमा तरलता अभाव भएकाले सहकारीको पैसा सहकारीमै राख्ने व्यवस्था हुनुपर्ने उनको भनाई छ।
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले सहकारी अर्थतन्त्रको खम्बा रहेको बताए। सहकारीको समस्या समाधान गर्न राज्यले नसकेको उनले बताए। राज्यको भूमिका कमजोर भएकाले पनि सहकारीमा समस्या आउने गरेको उनको भनाई थियो।
ललितपुर जिल्ला बचत सङ्घका अध्यक्ष रामहरि बजगाईँले सङ्घले सहकारीहरूले कम्तीमा ६/६ महिनाभित्र वित्तीय विवरण प्रकाशित गर्नुपर्ने बताए। ‘वित्तीय विवरण प्रकाशित गर्न सके सहकारी पारदर्शी र व्यवस्थित हुन सघाउ पुग्छ’ उनले भने।
मंसिर ८, २०७८ बुधबार १३:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।