एनआरएनएको नेपालमा डलर खाता : राख्न र लैजान पाउने

मंगलबार राष्ट्र बैङ्क परिसरमा आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारे समीक्षात्मक कार्यक्रममा उनले सञ्चितिको अवस्थालाई सन्तुलनमा राख्न एनआरएनएलाई डलर खाता खोल्न दिने बारे छलफल भइरहेको बताएका हुन्।
‘सञ्चितिको अवस्थालाई अलिकति सन्तुलन गर्न एनआरएनएहरूले डलर खाता खोल्न पाउने बारे हाम्रो कुरा भइरहेको छ’, मन्त्री शर्माले भने,‘उनीहरूले यहाँ पैसा राख्न पाउने, ब्याज पाउने र उता लैजान पाउने सहज खालको वातावरण निर्माण गर्नेबारे हाम्रो छलफल भइरहेको छ।’
एनआरएनएको पैसा बाहिरै रहेकाले त्यसलाई नेपाल भित्र्याएर लगानी गरी सदुपयोग गर्न सकिने उनको भनाई थियो।
मन्त्री शर्माले पछिल्लो समय‘ डिजिटल करेन्सी’को कुरा भइरहेको बताउँदै त्यसका लागि पहिले पूर्ण रूपमा डिजिटल कारोबार गर्नुपर्ने बताए।
‘हामी डिजिटल कारोबारमै जान सकेका छैनौँ,’ उनले भने,‘अहिले डिजिटल करेन्सीको कुरा आइरहेको छ। पहिले पूर्ण रूपमा डिजिटल कारोबार लागू गर्ने वातावरण बनाऔँ, त्यसपछि डिजिटल करेन्सीमा जान सकिन्छ।’
पूर्ण रूपमा डिजिटल कारोबारमा जानलाई आम मानिसलाई वित्तीय साक्षरता भनेझैँ डिजिटल साक्षरता आवश्यक हुने अर्थमन्त्री शर्माले उल्लेख गरे।
यस्तै उनले राष्ट्र बैङ्कका कर्मचारीसँग बैङ्कहरू डराउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए। मन्त्री शर्माले वैदेशिक रोजगारीमा रहेकाको सञ्चय कोष व्यवस्था गर्ने विषयमा पनि मन्त्रालयमा छलफल भइरहेको जानकारी दिए।
मंगलबार नै राष्ट्र बैङ्कको कामकारबाही बारे सङ्क्षिप्त जानकारी लिँदै उनले हुन्डी कारोबारलाई रोक्न सो व्यवस्था गर्ने बारे छलफल भइरहेको जानकारी दिएका हुन्।
मंसिर ७, २०७८ मंगलबार १७:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।