रासायनिक र प्लाष्टिकजन्य फोहोरले माछाको संख्यामा कमी 

रासायनिक र प्लाष्टिकजन्य फोहोरले माछाको संख्यामा कमी 

बुटवलः रुपन्देहीका खोलामा जथाभावी रासायनिक र प्लाष्टिकजन्य फोहोर मिसाइँदा जलचरको संख्या कम भइरहेको छ। बजार र कलकारखानाबाट निस्किने रासायनिक र प्लाष्टिकजन्य फोहोर सिधै खोलामा मिसाइँदा जलचरको जीवन चक्रमा समस्या निम्त्याएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका प्रमुख डा. प्रवेज आलमले बताए। 

आइतबार विश्व मत्स्य दिवसको अवसरमा उनले यस्तो बताएका हुन्। उनका अनुसार माछाको आहार बनाउन र उसलाई हुर्किन रासायनिक फोहोरले असर गर्दछ।

आइतबार तिनाउ खोलामा एक लाख माछा छाडिएको छ। हरेक वर्ष माछापालक किसान र माछासँग सम्बन्धित कार्यालयहरूले माछाका भुरा खोलामा छाड्ने गरेका छन्। 

जैविक विविधताको संरक्षण गर्ने ध्येयका साथ लुम्बिनी प्रदेशका कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीले माछाका भुरा तिनाउ खोलामा छोडेकी थिइन्। 

डा आलमका अनुसार पानीमा हुने प्राङ्गारिक पदार्थले फोहोर बढाउँछ। ती फोहोर माछा तथा अन्य जलचरले खाएर पानीमा शुद्धता कायम राख्छन्। तर पानीमा जलचरको संख्या कमी भए त्यो प्रकृयामा अवरोध सृजना हुन्छ। 

माछा प्रशस्त भएको पानी मलिलो हुने हुँदा सिँचाइका लागि उपयुक्त मानिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, रुपन्देहीका प्रमुख दिपक भुसालले बताए। 

जलचरको संरक्षण गर्दा पानीको मुहानको संरक्षण प्रमुख विषय रहेको र वातावरणलाई असर गर्ने कुनै पनि क्रियाकलाप गर्न ऐनले लगाएको रोक कार्यान्वयन हुन नसकेको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका पशुपन्छी विकास महाशाखा प्रमुख तुलसीराम भण्डारीले बताए।

हाल रुपन्देहीका उद्योग, कलकारखानाबाट निस्किने रासायनिक फोहोरलाई रोक्न वाटर ट्रिटमेन्ट प्लान्ट जडान नगरी खोलामा मिसाइएको छ। अब प्रदेश सरकारले अन्य मन्त्रालयहरुको सहकार्यमा चाँडै वातावरणसम्बन्धी कार्यविधि बनाएर खोला दूषित हुनबाट रोक्ने बताए। 

खोला नालामा जथाभावी रासायनिक फोहोर मिसाउँदा त्यसको असर मानिसले पनि व्यहोर्नुपर्ने मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवर्धन स्रोत केन्द्रका प्रमुख महेश चन्द गुप्तले बताए। 

रुपन्देहीमा माछा मारेर जीविका चलाउने हजारौँ परिवार छन्। माछाको संख्या कम हुँदै गएकाले खोलामा पाइने जलचरबाट आश्रित समुदायको आम्दानीको स्रोत गुमेको छ। 

उनीहरूको सहजताका लागि पनि हरेक वर्ष खोलामा माछाका भुरा छोड्ने गरेको मत्स्य व्यवसायी संघ रुपन्देहीका अध्यक्ष दिवाकर भुसालले बताए। 

मंसिर ६, २०७८ सोमबार १३:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।