शहिद स्मारकमा ब्रिगेड ब्वाइज र मनाङको जित

शहिद स्मारकमा ब्रिगेड ब्वाइज र मनाङको जित

काठमाडौँ : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज सम्पन्न दुई खेलमा ब्रिगेड ब्वाइज र मनाङ मर्स्याङ्दी क्लबले जितेको छ।

पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले एपीएफलाई ३-२ गोल अन्तरले जितेको थियो। दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लबले जावलाखेल यूथ क्लबलाई १-० गोल अन्तरले हरायो।

पखेलको ३१ औँ मिनेटमा कर्नरबाट प्रहार गरिएको बलमा मनाङका एडिलेजा सोमिडेको हेडपछि रिबाउण्ड भएर आएको  बलमा ओलावाले अफिजले गोल गरे पनि रेफ्रीले अफसाइड दिएका थिए।

पहिलो हाफ गोलरहित बराबरीमा रोकियो। दोस्रो हाफको सुरुबाटै मनाङले आक्रामक खेल खेलेको थियो। मनाङले ४६ औँ र ४९ औँ मिनेटमा राम्रो अवसर बनाए पनि गोल गर्न सकेन।

मनाङको लागि दिनेश राजवंशीले निर्णायक गोल गरे। दयानन्द सिंहको कर्नरमा राजवंशीले हेडरबाट ५७ औँ मिनेटमा गोल गरे। यही गोल निर्णायक बन्यो।

७८ औँ मिनेटमा जावलाखेलका रूपबहादुर लामाले प्रहार गरेको फ्री किकमा पेमा लोन्डुप शेर्पा गोल गर्न चुकेका थिए। ८९ औँ मिनेटमा अञ्जनको पासमा निकालेको बललाई गोलमा परिणत गर्न ओलावाले अफिज चुकेपछि खेल गुम्यो।

मंसिर ५, २०७८ आइतबार २१:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।