गृहमन्त्रीको दाबी : स्थानीयको समस्या समाधान गरेर मात्र मोतीपुर औद्योगिक क्षेत्र निर्माण

गृहमन्त्रीको दाबी : स्थानीयको समस्या समाधान गरेर मात्र मोतीपुर औद्योगिक क्षेत्र निर्माण

बुटवल : गृहमन्त्री बालकृष्ण खाँणले मोतीपुर औद्योगिक क्षेत्रको जग्गा विवाद समाधान गरेर औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढाउने बताएका छन्।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका खाँणले पहिलेदेखि बसोबास गर्दै आएका स्थानीयको पक्षमा आफू रहेको बताउँदै उनीहरूका मागलाई सम्बोधन गरेर मात्रै औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढाउने बताएका हुन्।

बुटवल लायन्स आँखा अस्पतालको रजत महोत्सव अन्तरगत आइतबार आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री खाँणले स्थानीयलाई सम्बोधन गरेर क्षेत्रफल घटाएर भए पनि औद्योगिक क्षेत्र बनाउने बताए।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन गर्दै गृहमन्त्री खाँणले भने ‘जनतालाई विस्थापित नगर्ने गरी त्यहाँ औद्योगिक क्षेत्र बन्नेछ, त्यहाँ बसोबास गरिरहेका जनतालाई नहटाईकन औद्योगिक क्षेत्र स्थापनाको व्यवस्था मिलाउनुहोस्।’

उनले बुटवललाई प्रादेशिक राजधानी बनाउँछु भनेर जनतासँग भोट मागेकाहरूले नै राजधानी अन्यत्र सारेको टिप्पणी गरेका थिए। एमाले नेता विष्णु पौडेलतर्फ लक्षित गर्दै उनले भने‘यहाँ सबैले बुटवललाई राजधानी बनाउँछु भनेर नै भोट मागेको हो, हामीले स्थापना पनि गर्यौ तर उहाँहरूले अन्यत्रै लैजानु भयो।’

उनले यो सरकार बनेपछि प्रहरी सङ्गठनमा धेरै सुधारका कामहरू भएको दाबी गरेका थिए। त्यस्तै लुम्बिनी प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले बुटवललाई उदयमान सिटिको रूपमा विकास गर्न स्वास्थ्य र शिक्षाका कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढाउनु पर्ने बताएका थिए।

मंसिर ५, २०७८ आइतबार २०:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।