रुपन्देहीमा कांग्रेस अधिवेशन: गृहमन्त्री खाँणका स्वकीय सचिव प्रतिनिधिमा पराजित

रुपन्देहीमा कांग्रेस अधिवेशन: गृहमन्त्री खाँणका स्वकीय सचिव प्रतिनिधिमा पराजित

रुपन्देहीः नेपाली कांग्रेसका प्रभावशाली नेता तथा गृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नै कांग्रेसको प्रतिनिधिमा पराजित भएका छन्। रुपन्देहीको प्रदेश सभा निर्वाचन क्षेत्र नं २ (क)बाट लुम्बिनी प्रदेश प्रतिनिधिका उम्मेदवार बनेका स्वकीय सचिव बिजेश न्यौपाने पराजित भएका हुन्।

गृहमन्त्री खाँणको गृहनगर र बलियो पकड रहेको भनिएको रुपन्देहीको बुटवल उपमहानगर र तिलोत्तमा नगरका विभिन्न वडा समेटेर बनेको उक्त निर्वाचन क्षेत्रबाट न्यौपानेसँगै खाँण समूहको प्यानल नै पराजित भएको छ।

सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका लुम्बिनी प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका वीरेन्द्र कनौडीयाका स्वकीय सचिव सञ्जिव बस्याल समेत पराजित भएका छन्।

कांग्रेस निर्वाचन समितिका अनुसार उक्त निर्वाचन क्षेत्रबाट खडक बहादुर महत नेतृत्वको रामचन्द्र पौडेल समूहको प्यानलका २ जना बाहेकका सबै निर्वाचत भएका छन्। त्यसैगरी रुपन्देहीको क्षेत्र नं २(ख)मा समेत खाँण समूहमाथि पौडेल समुह हावी भएको छ।

यो निर्वाचन परिणमले रुपन्देहीमा गृहमन्त्री खाँण कमजोर देखिएका छन्।

उक्त क्षेत्रमा समेत पौडेल समूहका परशुराम ढकाल नेतृत्वको पूरै प्यानल निर्वाचित भएको छ। उक्त निर्वाचन क्षेत्रमा ढकालले जित्दा देउवा समूहका रामेश्वर श्रेष्ठ पराजित भए।

त्यसैगरी प्रदेश सभा निर्वाचन क्षेत्र नं १(क) बाट नवीन राज आचार्यको समूह र क्षेत्र नं १(ख)बाट मदन प्रसाद पोखरेलको प्यानल नै विजयी भएको छ।

उक्त निर्वाचन क्षेत्रमा देउवा समूहले बाजी मारेको छ।

यसका साथै प्रदेश सभा निर्वाचन क्षेत्र ३(क)मा मतगणना स्थलमा आक्रमण भएपछि मतगणना स्थगित भएको छ भने ३(ख)बाट देउवा समूहका घनश्याम चालिसे नेतृत्वको प्यानलका उम्मेदवारहरू सबै निर्वाचित भएका छन्।

यता प्रदेश सभा निर्वाचन क्षेत्र नं ४ (क)मा शिव कुमार यादव र ४ (ख)मा श्रीराम यादव नेतृत्वको प्यानलै निर्वाचित भएको छ। उनीहरू दुवै महामन्त्री शशांक कोइरालानिकट मानिन्छन्। उनीहरूलाई प्रतिनिधि सभा सदस्य प्रमोद यादवको दरिलो साथ थियो।

निर्वाचन क्षेत्र नं ५ का (क) र (ख)का दुवै निर्वाचन क्षेत्रमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह पक्षका उम्मेदवारहरू विजयी भएका छन्।

उक्त निर्वाचन क्षेत्रको (क)बाट रामबहादुर थापा नेतृत्वको प्यानल नै निर्वाचित भएको छ भने (ख)बाट यसअघि नै शाहनिकट समूह निर्विरोध निर्वाचित भएको छ।

भरत शाह र गृहमन्त्री खाँण दुवै एउटै समूहमा रहेको भए पनि जिल्लामा शाह र खाँणको अलग अलग समूह प्रतिस्पर्धामा छ।

मंसिर ४, २०७८ शनिबार ११:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।