घर-जग्गा सम्बन्धी सूचकाङ्क आयो : मालपोतको तथ्याङ्क भन्दा बैङ्कको तथ्याकंमा सस्तो

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले घरजग्गाको मूल्यमा आउने उतारचढाव मापन गर्ने उद्देश्यले पहिलो पटक घरजग्गा मूल्य सम्बन्धी सूचकाङ्क तयार गरेको छ। बैङ्कले शुक्रवार सूचकाङ्क सार्वजनिक गर्यो।
नेपालमा पहिलो पटक घरजग्गा मूल्य सर्वेक्षण सम्पन्न गरी घरजग्गा मुद्रास्फीति मापन गर्न सूचकाङ्क निर्माण गरिएको हो। यसरी प्राप्त हुने घरजग्गा मूल्य सूचकाङ्क त्रैमासिक रूपमा नियमित प्रकाशन गरिने राष्ट्र बैङ्कले जनाएको छ।
सर्वेक्षण नतिजा अनुसार मालपोतको तथ्याङ्क भन्दा बैङ्कहरूबाट प्राप्त तथ्याङ्कमा घरजग्गा झन् महँगिएको देखिएको छ।
आर्थिक वर्ष २०७६-७७ मा वाणिज्य बैङ्कहरूबाट प्राप्त तथ्याङ्कको आधारमा वार्षिक औसत घरजग्गा मुद्रास्फीति २६.४५ प्रतिशत रहेको पाइएको छ। मालपोत कार्यालयबाट प्राप्त तथ्याङ्कको मुद्रास्फीति १९.७३ प्रतिशत रहेको देखाएको छ।
आर्थिक वर्ष २०७७-७८ को पहिलो नौ महिनामा मुद्रास्फीति १६.३१ र १२.५७ प्रतिशत थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७-७८ को पहिलो नौ महिनामा घरजग्गाको कारोबारमा केही शिथिलता आएकोले मुद्रास्फीति केही कम रहेको सर्वेक्षणमा उल्लेख छ।
वित्तीय क्षेत्र विकास रणनीतिमा घरजग्गा मूल्य सूचकाङ्क तयार गर्ने जिम्मेवारी नेपाल राष्ट्र बैङ्कलाई दिइएको थियो। त्यसकै आधारमा आर्थिक वर्ष २०७५-७६ लाई आधार वर्षको रूपमा लिई घरजग्गा सर्वेक्षण गरेर सो सूचकाङ्क तयार गरिएको हो।
घरजग्गा सर्वेक्षणको लागि सम्पूर्ण प्रदेशको भौगोलिक अवस्थिति, कारोबारको सघनता र तथ्याङ्क उपलब्धता समेतलाई आधार बनाएर २० वटा जिल्लाका २० स्थानलाई छनोट गरिएको थियो। दुई स्रोतबाट तथ्याङ्क सङ्कलन गरेर घरजग्गा मूल्य सूचकाङ्क तयार गरिएको प्रतिवेदनमा उल्लेख छ।
मालपोत कार्यालयबाट रजिस्ट्रेसन पास गर्दा राख्ने थैली रकम र बैङ्कहरूले कर्जा प्रवाह गर्दा धितोस्वरुप राखिने घरजग्गाको मूल्याङ्कनसम्बन्धी तथ्याङ्कका आधारमा घरजग्गाको मूल्य सङ्कलन गरिएको हो।
मंसिर ३, २०७८ शुक्रबार १६:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।