कतारविरुद्ध नेपाली महिला टोलीको क्लिन स्वीप

काठमाडौँ : नेपाली महिला क्रिकेट टोलीले तीन खेलको टी २० आईको तेस्रो तथा अन्तिम खेलमा कतारलाई १ सय ९ रनको फराकिलो अन्तरले हराउँदै अन्तर्राष्ट्रिय सिरिजमा क्लिन स्वीप गरेको छ।
तीन खेल आफ्नो पक्षमा पार्दै नेपाली महिला क्रिकेट टोली कतारविरुद्ध क्लिन स्वीप गर्न सफल भएको हो।
नेपाली टोलीले जितका लागि कतारलाई १ सय ६५ रनको लक्ष्य दिएको थियो। घरेलु टोली कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ५५ रन मात्र बनाउन सक्यो।
नेपालले आइसिसी वुमन्स टी २० एसिया छनोट अघि तयारीको लागि कतारसँग तीन टी २० आई सिरिज खेलेको हो। विश्वकप छनोट भने नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुनेछ। नेपाली टिम कतारबाटै भोलि शुक्रबार दुबई प्रस्थान गर्ने छन्।
छनोटमा नेपालसहित युएई, हङकङ, भुटान, कुवेत र मलेसियाले सहभागिता जनाउने छन्। नेपालले पहिलो खेल मङ्सिर ६ गते हङकङसँग खेल्नेछ। मङ्सिर ७ गते भुटानसँग प्रतिस्पर्धा गर्ने नेपालले मङ्सिर ९ गते कुवेत, मङ्सिर १० गते मलेसिया र मङ्सिर १२ गते युएईसँग प्रतिस्पर्धा गर्नेछ।
मंसिर २, २०७८ बिहीबार २०:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।