तामाङको हिरासत लम्बिएपछि सिभिल बैङ्कको अध्यक्ष बदलियो, पाण्डे भए नयाँ अध्यक्ष

काठमाडौँ : बैङ्कका अध्यक्ष इच्छाराज तामाङ सहकारी ठगीमा प्रहरी हिरासतमा पुगेपछि बैङ्कले नयाँ अध्यक्ष चयन गरेको छ। तामाङले राजीनामा दिएपछि बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा सञ्चालक प्रतापजङ्ग पाण्डेलाई चयन गरेको हो।
तामाङले सहकारीको बचतकर्ताको रकम तिर्न बैङ्कमा रहेको आफ्नो सेयर बेच्ने तयारी गरेका थिए। पाण्डे सो सेयर किन्न राजी थिए। तामाङको सेयर विक्री भएर उनी अध्यक्षबाट बाहिरिएका हुन् या सेयर कायम राखेर सो खुलेको छैन।
बैङ्क अध्यक्ष चयन भएपछि पाण्डेले सर्वसम्मत रूपमा बैङ्कको अध्यक्ष पदमा चयन गरी जिम्मेवारी प्रदान गर्ने सबै सञ्चालकलाई धन्यवाद दिएको सिभिल बैङ्कले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पाण्डेले बैङ्कलाई थप प्रभावकारी रूपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै बैङ्कको उच्च व्यवस्थापन तथा समग्र कर्मचारीहरूलाई उच्च मनोबलका साथ कार्य गरी बैङ्कलाई थप सबल र समृद्ध बनाउनेतर्फ विशेष रूपमा अगाडि बढाई शेयर होल्डर लगायत समग्र पक्षको भावना अनुरूप अगाडि बढ्ने प्रतिवद्घता जनाएको विज्ञप्तिमा उल्लेख छ।
तामाङ भने अझै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन्। उनी विरुद्ध ५ अर्ब माथिको बिगोमा सिआइबीले सङ्गठित अपराधमा समेत अनुसन्धान गरिरहेको छ। उनी सहित सिभिल सहकारीका अन्य ११ जना पनि हिरासतमै छन्।
मंसिर १, २०७८ बुधबार २३:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।