प्रदेश १ मा काँग्रेस सरकारको लाज छोप्ने टालो भएको विपक्षीको आरोप

इटहरी : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाउँदा विपक्षीले केन्द्रमा सत्ताको नेतृत्व गरेको नेपाली काँग्रेस प्रदेश १ को हकमा सरकारको लाज छोप्ने टालो भएको टिप्पणी गरेको छ।
बुधबार १ बजे बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईको पक्षमा बहुमत प्राप्त भएपछि प्रदेश १ को सरकार आगामी निर्वाचनसम्म जोगिने पक्का भएको छ। संसद्मा हाल कायम रहेको प्रदेश सभामा ९२ जना सांसदमध्ये राईको पक्षमा ५० मत खसेको थियो।
मतदानमा सहभागी ७९ सांसद मध्ये २९ जनाले विपक्षमा मतदान गरे। गठबन्धनका नेकपा एकीकृत समाजवादी, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, माओवादी केन्द्र र राष्ट्रिय लोकतान्त्रिक मञ्चले मुख्यमन्त्रीको पक्षमा मतदान गरेका थिए ।
प्रमुख प्रतिपक्षी एमालेले सरकारलाई समर्थन नगर्ने घोषणा गरेपछि मत विभाजन भएको थियो । मङ्गलवारको लागी निर्धारण गरेको बैठक प्रतिपक्षी एमालेको अनुपस्थितिले रोकिएको थियो ।
बुधवारको बैठकको सुरुमै बोल्दै राईले नेपालको संविधानको धरा १६८ को उपधारा ४ र प्रदेशसभा नियमावलीको नियम १२८ को उपनियम ४ बम जीत आफूमाथि विश्वासको मत छ भन्ने कुरा प्रस्ट पारेका थिए।
मङ्गलवार प्रमुख प्रतिपक्षीको अनुपस्थितिले कुनै असर नपर्ने भए पनि सम्मानको लागी एक दिन पर्खिएको उनले बताएका थिए। सरकारको पक्षमा मत हाल्न आग्रह गर्दै उनले वर्तमान सरकार संविधानको रक्षा र परिवर्तनको लागी गठन भएको धारणा राखे । अघिल्लो सरकार प्रतिगमनको पक्षमा देखिएकाले समर्थन गर्न नसकिएको उनको भनाई थियो।
गठबन्धनको तर्फबाट धारणा राखेका नेपाली काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले सरकारलाई समर्थन गरेको बताएका थिए। मुख्यमन्त्रीको प्रस्तावमा समर्थन गर्दै उनले केपी शर्मा ओलीको दम्भको कारण दुई तिहाइ बहुमतको सरकार ढलेको धारणा राखेका थिए।
उता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक हिक्मत कार्कीले काँग्रेस ठुलो दल भएर पनि सानो अवस्थामा खुम्चिएको बताएका थिए। कार्कीले काँग्रेसको सातो गएर उपचार गर्नुपर्ने अवस्थामा पुगेको भन्दै व्यङ्ग्य गरे।
‘काँग्रेस यति धेरै कमजोर भएछ की ! सरकारको लाज छोप्ने अवस्थामा मात्र सीमित रह्यो,’ उनले भने, ‘सांसदलाई होटेलमा थुन्ने काम नहोस्। माननीयलाई बन्धक बनाउनु हुन्न। हिजो पार्टी फोड्नुभयो। त्यसपछि स्याम्पेन फोडेको भिडियो भाइरल भयो। अब जनताको मन नफोड्नु होला। प्रतिपक्षी बलियो छ। प्रदेश संरचनालाई घात हुने काम नगर्नुहोला।’
मंसिर १, २०७८ बुधबार १६:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।