सुदूरपश्चिमबाट एमालेका १६४ जना महाधिवेशन प्रतिनिधि छनोट

धनगढी : नेकपा (एमाले)को १०औँ महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेशबाट १ सय ६४ जना महाधिवेशन प्रतिनिधि छनोट गरिएको छ
धनगढीमा आयोजित पत्रकार सम्मेलनमा एमालेका सुदूरपश्चिम अध्यक्ष कर्ण थापाले १६ वटा सङ्घीय निर्वाचन क्षेत्रलाई आधार मानेर नौ वटै जिल्लाबाट महाधिवेशन प्रतिनिधि छनोट गरिएको बताए।
‘१६ निर्वाचन क्षेत्रमध्ये १४ वटामा सर्वसम्मतले र बाँकी दुई निर्वाचन क्षेत्रमा निर्वाचन गरेर प्रतिनिधि छनोट गरेका छौँ,’ थापाले भने, ‘कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ र कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ मा निर्वाचन र बाँकी सबैमा सहमतिकै आधारमा प्रतिनिधि छनोट गरेका हौँ।’
निर्वाचन भएका क्षेत्रमा पनि सौहार्दपूर्ण वातावरणमा चुनाव भएको अध्यक्ष थापाले दावी गरे।
आसन्न राष्ट्रिय महाधिवेशनका लागि कैलालीका पाँच वटै निर्वाचन क्षेत्रबाट ४४ जना प्रतिनिधि छनोट गरिएको छ।
यस्तै क्रमशः दार्चुलामा १२ बझाङ १६, बैतडी १४ डडेल्धुरा ११, बाजुरा २१, कञ्चनपुर १६, डोटी १६ र अछामबाट १४ जना प्रतिनिधि छनोट गरिएको छ।
भीम रावल पक्षको असन्तुष्टि
कैलाली क्षेत्र नम्बर २ मा भएको महाधिवेशन प्रतिनिधि छनोटलाई मान्न नसकिने भन्दै एमाले उपाध्यक्ष भीम रावलले आपत्ति जनाएका छन्।
रावल पक्षले मङ्गलबार भएको उक्त छनोटलाई नमान्ने भन्दै बुधवार फेरि महाधिवेशन प्रतिनिधि छनोटका लागि भेला बोलाएको छ।
रावल निकट कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर तथा एमालेका प्रदेश कमिटी सदस्य महादेव बजगाईंले सामाजिक सञ्जालमार्फत बुधबारका लागि महाधिवेशन प्रतिनिधि छनोट भेला आह्वान गरेका छन्।
उनले कैलालीको लम्कीस्थित मनोहरा होटेलमा भेला आयोजना गरिएको आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन्। मङ्गलबार भएको प्रतिनिधि छनोट पार्टीको नभई गुटको आयोजनामा भएको उनी बताउँछन्।
एमाले प्रदेश अध्यक्ष थापाले मङ्गलबार गरिएको प्रतिनिधि छनोट पार्टीको आधिकारिक भएको बताए। पार्टीको आधिकारिक भेलाले मङ्गलबार ९ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरिसकेको जानकारी दिँदै उनले पार्टीका विरुद्ध गतिविधि गरेमा कारबाही गर्ने चेतावनीसमेत दिएका छन्।
मंसिर १, २०७८ बुधबार १५:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।