कर चुहावटको सूचना दिनेलाई पुरस्कृत गर्न अर्थमन्त्रीको निर्देशन

कर चुहावटको सूचना दिनेलाई पुरस्कृत गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ : अर्थमन्त्री जनार्दन शर्माले कर प्रणाली र करदाताका समस्या तत्काल समाधान गर्न संयन्त्र निर्माण गर्ने बताएका छन्। 

बुधबार दसौँ राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभाग लाजिम्पाटमा भएको कार्यक्रममा अर्थमन्त्री शर्माले समस्याको तत्काल समाधान गर्न संयन्त्र बनाइने बताए। 

मन्त्री शर्माले चुहावटको सूचना दिनेलाई तत्काल पुरस्कृत गर्न निर्देशन दिए। पुरस्कृत नगर्दा सूचना दिन हतोत्साहित हुने गरेको र त्यसले कर सङ्कलनमा समेत असर गरिरहेको अर्थमन्त्री शर्माको भनाई छ। उनले ‘इन्सेन्टिभ’ दिन छुटेकालाई समेत तत्काल दिन निर्देशन दिए। 

जनताले बुझाएको करबाटै सरकारको नेतृत्वकर्ता र कर्मचारीहरूले जनताको सेवा गरिरहेको बताए।  त्यस्तै राजस्व व्यवस्थापनलाई आगामी दिनमा प्रविधियुक्त बनाउँदै करदातामैत्री बनाइने मन्त्री शर्माको भनाई थियो। 

मन्त्री शर्माले कर प्रशासनमा हुने झन्झटलाई तत्काल समाधान गर्न इकाई÷संयन्त्र बनाउने, भन्सारमा ‘भेकल स्क्यानर’ को व्यवस्था गर्ने र स्टिकर सकार आफैँले छाप्ने प्रतिबद्धता पनि जनाए। 

अर्थसचिव मधुकुमार मरासिनीले प्रत्येक नागरिकले तिरेको करबाटै राज्यले प्रदान गर्ने सेवा सुविधा उपलब्ध हुने बताए।

‘शिक्षा, स्वास्थ्य, सुरक्षालगायतका कुरा हामीले तिरेको करबाट व्यवस्था भएको छ। कतिपयलाई कर सकेसम्म नतिरौँ भन्ने लाग्छ, तिर्न परे पनि कम’, उनले भने,‘यो करदाता शिक्षा र करको महत्त्वबारे हामीले मन्थन र बुझाउनुपर्ने लागेको छ।’

मंसिर १, २०७८ बुधबार १४:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।