मुख्यमन्त्री राईले पाए विश्वासको मत

विराटनगर : प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिएका छन्। प्रदेश सभाको बुधबार बसेको बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत लिने प्रस्ताव पेस गरेका थिए।
राईले पेस गरेको प्रस्तावको पक्षमा ५० विपक्षमा २९ मत र मत दिने भन्ने पक्षमा ० मत परेको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गरे। प्रदेश सभामा उपस्थित सङ्ख्या ७९ रहेकोमा पक्षमा ५० र विपक्षमा २९ मत परेको हो।
राई कार्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। राई प्रदेश १ को तेस्रो मुख्यमन्त्री हुन्। प्रदेश १ को पहिलो मुख्यमन्त्री शेरधन राई थिए भने भीम आचार्यले राजीनामा दिएपछि राई मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
कात्तिक ३० गते मंगलबार नै विश्वासको मत लिने कार्यसूची रहे पनि एमाले सांसदहरू अनुपस्थित भएपछि सभामुखले आज बुधबारसम्मका लागि बैठक स्थगित गरेका थिए।
९२ सदस्यीय प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल एमालेका ४१ सांसद छन्। सत्ता गठबन्धनको नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादीका तीन र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन्।
मंसिर १, २०७८ बुधबार १४:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।