मुख्यमन्त्रीको विश्वासको मत लिने प्रस्तावमा एमालेको कटाक्ष : के को हतारो?

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने प्रस्ताव प्रदेश सभाको बैठकमा पेस भएको छ।
नेकपा एकीकृत समाजवादी पार्टीबाट मुख्यमन्त्रीमा नियुक्त राईले विश्वासको मत लिने प्रस्ताव पेस गरेका हुन्।
नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले विश्वासको मत लिने प्रस्तावमाथि भएको छलफलमा विश्वासको मत माग्ने प्रस्तावमा सहयोग गर्न आग्रह गरे।
नेकपा एमालेका हिक्मत कार्कीले नेपाल बन्द भएका कारण मंगलबारको बैठकमा उपस्थित नभएको बताए। उनले पार्टीको महाधिवेशन चलिरहेको बताउँदै मङ्सिर १४ गतेसम्म समय माग्ने अधिकार आफ्नो दललाई रहेको बताए।
‘१४ गतेसम्म त हामीलाई पनि समय माग्ने अधिकार थियो,’कार्कीले भने,‘के के हतारो हो?’ नेकपा विप्लव समूहको बन्दका कारण मंगलबार बसेको प्रदेश सभा बैठकमा उपस्थित हुन नसकेको एमाले सांसद कार्कीले प्रस्टीकरण पनि दिए।
उनले प्रदेश सरकारलाई बदनाम गर्ने काम नगर्न खबरदारी गरे। एमाले सांसद उपस्थित नहुँदा प्रदेश सभाको मंगलबारको बैठकमा विश्वासको मत लिने प्रस्ताव पेस गर्ने कार्यसूची बुधबारसम्मलाई स्थगित भएको थियो।
मंसिर १, २०७८ बुधबार १३:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।