रेमिटेन्स ७.६ प्रतिशतले घट्यो, आयात ६३ प्रतिशतले बढ्यो, शोधनान्तर स्थिति ७६ अर्ब घाटामा

चालु आर्थिक वर्षको तीन महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै राष्ट्र बैङ्कले विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ७.६ प्रतिशत र अमेरिकी डलरमा ७.७ प्रतिशतले घटेको जनाएको हो।
समीक्षा अवधिमा शोधनान्तर स्थिति ७६ अर्ब १३ करोड रुपैयाँले घाटामा रहेको बैङ्कले जनाएको छ।
तीन महिनामा आयात ६३.७ प्रतिशतले बढेको छ। निर्यात १०९.५ प्रतिशतले बढेको राष्ट्र बैङ्कको वित्तीय विवरणमा उल्लेख गरिएको छ।
वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२४ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.७९ प्रतिशत थियो।
राष्ट्र बैङ्कले समीक्षा अवधिमा घ्यु तथा तेल, माछा तथा मासु, दाल तथा गेडागुडी, सुर्तीजन्य वस्तु र गैर मदिराजन्य पेय पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः ३१.६८, ११.९३, १०.७१, १०.१२ र ९.६३ प्रतिशत रहेको जनाएको छ।
समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १२.३२ प्रतिशत रहेको छ।
तीन महिनामा कुल वस्तु निर्यात १०९.५ प्रतिशतले वृद्धि भई ६५ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। वस्तुगत आधारमा सोयाविन तेल, पाम तेल, पिना, धागो, जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ। तर, चिया, अलैँची, जस्तापाता तार, आयुर्वेदिक औषधी लगायतका वस्तुको निर्यात भने घटेको राष्ट्र बैङ्कले जनाएको छ।
चालु वर्षको तीन महिनामा कुल वस्तु आयात ६३.७ प्रतिशतले वृद्धि भई ४७८ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा यस्तो आयात १२.७ प्रतिशतले घटेको थियो।
तीन महिनामा कुल वस्तु व्यापार घाटा ५८.३ प्रतिशतले वृद्धि भई ४१३ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ।
विप्रेषण आप्रवाह ७.६ प्रतिशतले कमी आइ २३९ अर्ब ३२ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले बढेको थियो।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या भने उल्लेख्य रूपमा बढेर ६६ हजार ३१६ जना पुगेको छ। यस्तै पुन: श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या सङ्ख्या पनि बढेर ३४ हजार ८२३ पुगेको छ।
समीक्षा अवधिमा चालु खाला १५१ अर्ब ७० करोडले घाटामा रहेको राष्ट्र बैङ्कले जनाएको छ। अघिल्लो वर्ष ३३ अर्ब ३८ करोड रुपैयाँले बचतमा रहेको थियो। अघिल्लो वर्ष १०१ अर्ब ९ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७६ अर्ब १४ करोड रुपैयाँले घाटामा रहेको बैङ्कले जनाएको छ।
कात्तिक ३०, २०७८ मंगलबार १७:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।