सहिद स्मारक ‘ए’ डिभिजन लिगको तालिका बदलियो

हप्तामा तीन दिन खेलाउने भनिएको लिगमा थप एक दिन थप भएको छ। यस अगाडि शुक्रवार, शनिवार र आइतबार खेल खेलाउने भनिएको थियो। तालिका बदलेर अब सोमबार प्रतियोगिता हुने भएको छ। एन्फाले पहिलो दुई चरणका लागि १४ खेलको नयाँ तालिका सार्वजनिक गरेको छ।
लिग कमिटीले दशरथ रङ्गशाला र सातदोबाटोको एन्फा मुख्यालय मैदानमा नियमित लिगका खेलाउने तयारी गरेको थियो। च्यासललाई वैकल्पिक मैदानका रूपमा राखेको छ।
तालिका परिवर्तन गर्दै एन्फाले अब पहिलो दुई चरणका सबै खेल दशरथ रङ्गशालामा खेलाउने भएको छ। नयाँ तालिकाअनुसार शुक्रवार दिउसो पौने पाँच बजे फ्रेन्ड्स क्लब र नवप्रवेशी सातदोबाटो यूथ क्लबबिचको खेलबाट लिग सुरु हुनेछ।
पहिलो हप्ताका बाँकी ६ खेल शनिवार, आइतबार र सोमबार हुनेछन्। शनिवार हिमालयन शेर्पा क्लब र सङ्कटा क्लब तथा च्यासल यूथ क्लब र थ्री स्टार क्लबका बिच खेल हुनेछ।
आइतबार ब्रिगेड ब्वाइज क्लब र एपिएफ फुटबल क्लब तथा जावलाखेल यूथ क्लब र मनाङ मर्स्याङ्दी क्लब खेल्ने छन्। सोमबार त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब तथा साबिक विजेता मच्छिन्द्र क्लब र न्युरोड टिमबिच प्रतिस्पर्धा हुँदै छ।
कात्तिक ३०, २०७८ मंगलबार १७:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।