कैलालीमा कांग्रेसकाे पालिका अधिवेशन आज

कैलालीमा कांग्रेसकाे पालिका अधिवेशन आज

धनगढीः कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत कैलालीमा आज पालिका अधिवेशन भइरहेको छ। प्रचार प्रसार सञ्योजक नृप सुनारका अनुसार १३ स्थानीय तह रहेको कैलालीका केही स्थानमा सहमतिको आधारमा नेतृत्व चयन हुने भए पनि अधिकांशमा भने निर्वाचन नै हुने भएकाे छ।
 

हालसम्म धनगढी, गोदावरी र गौरिगंगामा उम्मेदवारी घोषणा भइसकेको छ भने अन्य केही स्थानीय तहमा आकांक्षी देखिएका छन्। केहीमा भने अझै सहमतिको प्रयास जारी रहेको सुनारले बताए।  

अहिले सम्म कैलालीमा देउवा पक्षकै बढी नेताहरू नेतृत्वको दौडमा छन्।

कैलालीमा देउवा पक्षमै नारायण दत्त भट्ट, फकिर सिंह कठायत, दीर्घराज भाट , भुवन अधिकारी एक समूहमा देखिएका छन्। त्यस्तै मनु शाह, प्रकाश बम, राम जनम चौधरी, नारायणदत्त मिश्र, मोहसिंह राठौर र रणबहादुर रावल अर्को समूहमा बाँडिएका छन्।

धनगढी उपमहानगरको सभापतिका लागि नेता यज्ञराज उपाध्यायले उम्मेदवारी घोषणा गरिसकेका छन्। उद्योग वाणिज्य सङ्घका पूर्वमहासचिव रुपेश स्वारले पनि नगर सभापतिमा चुनाव लड्ने बताएका छन्।

लम्की चुहा नगरपालिकामा इन्द्र कुँवर र भक्त चलाउनेले सभापतिमा लड्ने बताएका छन्। भजनीमा टेकराज न्यौपाने र नवराज मिश्र चुनावी दौडमा छन्।

कैलारीमा कृष्ण चौधरीलाई सर्वसम्मत सभापति बनाउने अन्तिम तयारी भइरहेको जनाइएको छ।

गोदावरीमा वीर बहादुर चोखाल र विष्णु बडेलाले उम्मेदवारी घोषणा गरिसकेका छन्। घोडाघोडीमा कालिराम चौधरी, बम बहादुर सिंह र चन्द्रु चौधरीले आकाङ्क्षा व्यक्त गरेका छन्।

गौरीगङ्गामा पहल विक्रम चन्द र मोहन साउदले उम्मेदवारी घोषणा गरिसकेका छन्। जोशीपुर, टीकापुर, चुरे, मोहन्यालमा भने अझैसम्म अन्तिम आकांक्षी पहिचान हुन सकेका छैनन्।

कात्तिक ३०, २०७८ मंगलबार १०:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।