सामूहिक दुर्घटना बीमा गर्दा न्यूनतम २ रुपैयाँ

काठमाडौँ : बीमा समितिले दुर्घटना बीमा निर्देशिका, २०७८ जारी गरेको छ। समितिका अनुसार सोमबार जारी निर्देशिका छिट्टै कार्यान्वयनमा आउने समितिले उल्लेख गरेको छ।
निर्देशिका अनुसार बीमालेख एक वर्ष वा सो भन्दा कम अवधिको लागि जारी गरिने हुनेछ। निर्देशिका अनुसार व्यक्तिगत र सामूहिक गरी दुई प्रकारका दुर्घटना बीमालेख गरिने छ। कुन प्रकारको बीमा हो सो बीमालेख गराउँदा नै खुलाउनु पर्ने निर्देशिकामा उल्लेख छ।
निर्देशिका अनुसार व्यक्तिगत दुर्घटना बीमा गर्दा प्रतिव्यक्ति प्रतिहजार २ रुपैयाँ न्यूनतम बीमा तोकिएको छ। २ देखि २५ जनासम्मको सामूहिक दुर्घटना बीमा गर्दा न्यूनतम २ रुपैयाँ, २६ देखि एक सय जनासम्मको लागि न्यूनतम १ रुपैयाँ ७५ पैसा र सो भन्दा बढीको लागि प्रतिव्यक्ति प्रतिहजार न्यूनतम १ रुपैयाँ ५० पैसा बीमाशुल्क निर्देशिकाले तोकिएको छ।
बीमाशुल्क गणना गर्दा कम्पनीहरूले प्रति बिमा लेख एक सय रुपैयाँभन्दा कम बीमाशुल्क लिन पाउँदैनन्। लघुबीमा अन्तर्गत पर्ने दुर्घटना बीमालेखको हकमा यो व्यवस्था लागू नहुने निर्देशिकामा उल्लेख छ।
बीमालेखमा बीमाशुल्क गणना गर्दा कूल बीमाङ्क रकम, लिन चाहेको थप जोखिम बापतको रकम र बीमा लेखले उपलब्ध गराउने औषधी उपचारको रकम बाहेक थप औषधोपचारको रकम छुट्टा छुट्टै खुलाउने पर्ने व्यवस्था छ।
कात्तिक २९, २०७८ सोमबार १९:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।