पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको अनुभूति : नेताहरूले जिते, जनता हारे

शान्तलाल मुल्मीको ‘मभित्रको म’ पुस्तक लोकार्पण कार्यक्रममा श्रेष्ठले नेताहरू जितेको अनि जनता हारेको अनुभूति हुन थालेको टिप्पणी गरेका हुन्। पूर्व प्रधानन्यायाधीश श्रेष्ठले ‘नछोडी धर्म नतोडी ब्रह्म, गरेर कर्म नै जीवनको मर्म’ भन्ने सन्देश आत्मवृतान्तले पस्केको बताए। आफू कसरी स्वराज हुने भन्ने ज्ञान पुस्तकले दिने पनि उनले सुनाए।
७८ वर्षे मुल्मीको पुस्तकमा उनले जीवनमा भोगेका राजनीतिक, साहित्यिक, मानवअधिकारलगायत अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा लेखिएको छ। कार्यक्रममा भाषासेवी एवम् मानवअधिकारकर्मी मल्ल के सुन्दरले मुल्मीको आत्मवृत्तान्त आफ्नै कथा जस्तो लाग्ने र आफ्नो जीवनसँग पनि मेल खाएको बताए।
साहित्यकार सुलोचना मानन्धरले आफूले आफैलाई ढाँट्न नसक्ने र मान्छेले जीवनमा गलत गरे पनि सुधार्ने मौका प्राप्त हुने सन्देश इमानदारितापूर्वक लेखकले पुस्तकमा लेखेको बताए। समालोचक केशव दाहालले मभित्रको म आत्मवृतान्तमा शब्दको माधुर्यता रहेको, शब्दको लय मिलेको र आफ्नो अस्तित्व खोज्न सिकाउने खालको रहेको बताए।
छत्रलक्ष्मी रुद्रलाल मुल्मी स्मृति प्रतिष्ठानले प्रकाशन गरेको पुस्तक लोकार्पणसँगै गोरखाका समाजसेवी धिरज मास्केलाई रुद्रलाल समाजसेवी सम्मान पदक दिइएको थियो।
कात्तिक २९, २०७८ सोमबार १९:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।