१० हजार दर्शक अटाउने प्रदेश रंगशाला निर्माणका लागि निर्माण कम्पनीसँग सम्झौता

१० हजार दर्शक अटाउने प्रदेश रंगशाला निर्माणका लागि निर्माण कम्पनीसँग सम्झौता

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा १० हजार दर्शक क्षमताको प्रदेश रंगशाला निर्माणका लागि निर्माण कम्पनीसँग सम्झौता भएको छ। 

निर्माण कम्पनी र कर्णाली प्रदेश खेलकुद विकास परिषद्बीच आइतबार सम्झौता भएको हो।

प्रदेश सरकारले प्रदेश गौरवको योजनाका रुपमा घोषणा गरेको प्रदेश रंगशाला निर्माणको ठेक्का

काठमाडौंको कान्तिपथमा रहेको निर्माण कम्पनी एमएसिजीले लिएको छ। २०८१ वैशाखभित्र रंगशाला निर्माण सम्पन्न गर्नेगरी सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ।

अबको एक साताभित्रै रंगशालाको शिलान्यास गरेर निर्धारित समयभित्रै निर्माणको काम सम्पन्न गर्नेगरी काम अगाडि बढाइने परिषद्का सदस्य-सचिव विश्वामित्र सञ्ज्यालले बताए।

रंगशालाभित्र फिफाको मापदण्ड अनुसार फुटबल मैदान बनाइने छ भने आठ लेनको सेन्थेटिक एथलेटिक्स ट्रयाक बनाइने छ।

१० हजार दर्शक क्षमताको भूकम्प प्रतिरोधी प्याराफिट, भिआइपी प्याराफिट, मिडिया रूम, रेफ्री, चेन्जिङ र रिफ्रेस रूम, मेडिकल रुम, फिजियोथेरापी, भिआइपी वेटिङ रुमका साथै अण्डरग्राउण्ड पार्किङ निर्माण गर्नेगरी रंगशालाको डिजाइन गरिएको छ।

टिभी लाइभ ब्रोडकाष्ट प्लेटफर्म, रंगशालाभित्रै ओलम्पिक टर्च स्ट्याण्ड र फिफा मापदण्डकै स्विमिङ पुल पनि रंगशालाभित्र निर्माण गरिने सम्झौतामा उल्लेख छ।

रंगशालाभित्र १५ सय दर्शक अट्ने बहुउद्देश्यीय कभर्ड हल, भलिबल, ह्याण्डबल लगायतका खेलहरू खेल्न मिल्ने परिषद्ले जनाएको छ।

हस्ताक्षर कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले खेलकुदका पूर्वाधार नभएको कर्णालीमा अन्तर्राष्ट्रियस्तरका खेलकुदका कार्यक्रम गर्नका लागि प्रदेश रंगशाला निर्माणलाई सरकारले गौरवको योजनाका रुपमा समावेश गरेको बताए।

समय अगावै रंगशाला निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यवसायीलाई उनले निर्देशन समेत दिएका छन्।

कात्तिक २८, २०७८ आइतबार १८:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।