प्रदेश सभाले कानूनकाे व्याख्या गर्ने हाेइन : शंकर पाेखरेल

बुटवलः लुम्बिनी प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता शंकर पोखरेलले संवैधानिक र कानूनी प्रश्नको निरुपण नहुँदासम्म एमाले सभामा उपस्थित नहुने बताएका छन्। आज प्रदेश सभा बैठकमा बोल्दै उनले प्रदेश सभाले कानूनको व्याख्या आफैं गर्दै सांसदलाई गठबन्धनभित्र समावेश गरेकोमा आपत्ति समेत जनाए।
‘अजय शाहीलाई निर्वाचन आयोगले स्वतन्त्र भन्नु पर्याे। विमला वली फलानो पार्टीको हो भनेर आयोगले भन्नु पर्याे। तपाईंहरूले कानूनको व्याख्या गर्ने होइन। प्रदेश सभाले प्रदेश सभा चलाउने हो’, उनले भने।
सरकारले अन्य पार्टीका सांसदलाई राखेर मेरो गठबन्धन भन्न नमिल्ने समेत उनले बताए। त्यस्तै राजधानीको पूर्वधार निर्माणमा सरकारले गम्भीरता नदेखाएको बताए। उनले प्रस्ताव तयार गरेका व्यक्तिलाई नै हटाएर प्रदेश पूर्वधार प्राधिकरणबाट हटाउँदा अहिलेसम्म राजधानीको गुरुयोजना साेचेअनुसार अघि बढ्न नसकेको बताए।
‘काम नगर्ने दण्डित गर्ने सरकारको कुरा हो। तर काम गर्ने क्षमता भएका व्यक्तिलाई कसका पालाको सरकारमा नियुक्ती भएको हो भन्ने ठाने हाम्रो विकास के होला?’ उनले भने।
पोखरेलले मन्तव्य सक्नासाथ प्रतिपक्षी एमालेले विरोध गरेको थियो। बैठक पुनः बस्ने गरी आधा घण्टाका लागि स्थगित गरिएको छ।
कात्तिक २८, २०७८ आइतबार १६:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।