कांग्रेस महाधिवेशन: कैलालीका एक सय २४ वडामा नेतृत्त्व चयन

कांग्रेस महाधिवेशन: कैलालीका एक सय २४ वडामा नेतृत्त्व चयन

धनगढीः नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत कैलालीमा हालसम्म एक सय २४ वडामा नयाँ नेतृत्त्व चयन भएको छ। क्रियाशील सदस्यता विवादका कारण निर्धारित समयमा हुन नसकेको नेपाली कांग्रेस कैलालीको वडा अधिवेशन शनिबारदेखि जारी छ। 
 

जिल्लाका १३ वटा स्थानीय तहका एक सय २६ वडामध्ये १ सय २४ मा नयाँ नेतृत्त्व चयन भएको छ भने टीकापुर नगरपालिका-१ मा मतपरिणाम सार्वजनिक भएको छैन। यता गोदावरी नगरपालिका-६ मा भने निर्वाचन अधिकृतले आज हुने भनिएको चुनाव स्थगित गरेका छन्।

‘क्रियाशील सदस्यता विवाद बल्झिएपछि केन्द्रको निर्देशनअनुसार निर्वाचन अधिकृतले चुनाव स्थगित गरेका छन्', प्रचारप्रसार समिति संयोजक नृप सुनारले भने, ‘क्रियाशील सदस्यता विवादबारे केन्द्रको निर्देशन बमोजिम प्रक्रिया अगाडि बढ्छ। कैलालीका अन्य वडामा शान्तिपूर्ण रूपमा नयाँ नेतृत्व चयन भएको छ।’

बर्दगोरीया गाउँपालिका-२ मा पनि सहमति जुटेको छ। मतगणनाको अन्तिम चरणमा बाँकी रहेका १६ मत एक समूहले च्यातेपछि विवाद भएको थियो। तर गनिएकै मतका आधारमा विजेता घोषणा गरिएको छ। 

नगर सभापति र सचिव आफ्नै वडामा पराजित
गोदावरी नगरपालिकामा कांग्रेसका नगर सभापति र सचिव आफ्नै वडामा पराजित भएका छन। क्षेत्रीय प्रतिनिधिको निर्वाचनमा वडा नम्बर १ बाट नगर सभापति हेमप्रकाश उप्रेती र नगर सचिव तेज खड्का पराजित भएको प्रचार प्रसार संयोजक सुनारले बताए।

उनका अनुसार शिवराज जोशीको पूरै प्यानल विजयी भएको छ। सोही समूहका उम्मेदारहरू क्षेत्रीय प्रतिनिधि र नगर प्रतिनिधिमा विजयी भएका छन्।

जोशी इतर समूहबाट क्षेत्रीय प्रतिनिधिमा लोकराज पाण्डेले मात्रै जित हासिल गरेका छन्।

कात्तिक २८, २०७८ आइतबार १६:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।