तिहारपछिको सेयर परिसूचक २ हजार ६ सय ९० मा पुग्दा पनि महालक्ष्मीका लगानीकर्ता फाइदामा

काठमाडौँ : धितो पत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम यो साता पनि रोकिएन। यो साता तीन दिन मात्रै धितो पत्र बजारमा कारोबार भयो। तीन दिनको कारोबारमा हरेक दिन कारोबार ओरालो लाग्यो।
नेपाल स्टक एक्सचेन्जका अनुसार साताभर कूल २ सय ३० कम्पनीको शेयर कारोबार भएको थियो। पहिलो दिनको कारोबारको तुलनामा अन्तिम दिनसम्म १३९.३५ अङ्कले नेप्से परिसूचक ओरालो लागेको थियो। कूल दुई करोड ८६ लाख ४०९ कित्ता शेयर १६ अर्ब ६ करोड ८० लाख ५१ हजार १९० मूल्यमा खरिद बिक्री भएका थिए।
तिहारको बिदापछि बजार खुलेको पहिलो कारोबार दिन नेप्से परिसूचक १९.२० अङ्कले घटेर दुई हजार ८२९.६४ मा आइपुग्यो। ठुला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत २.७१ ले झरेर ५२८.३७ मा आइपुग्यो।
पहिलो दिन कूल २ सय ३० कम्पनीको ७२ लाख सात हजार ३९६ कित्ता शेयर चार अर्ब ४२ करोड सात लाख १९ हजार १ सय ३ रुपैयाँमा खरिद बिक्री भएका थिए।
कारोबार भएका कूल १३ उपसमूहमध्ये सोमबार तीन उपसमूहको शेयर उकालो लाग्यो। १० उपसमूहको शेयर ओरालो लाग्यो। त्यस दिन कारोबारका आधारमा महालक्ष्मी विकास बैङ्क शीर्ष स्थानमा रह्यो। महालक्ष्मीको ५२ करोड १० लाख तीन हजार ५ सय ९० रुपैयाँ बराबरको कारोबार भएको थियो।
मङ्गलवार नेप्से परिसूचक ७९.७९ अङ्कले घटेर दुई हजार ७४९.८५ मा ओर्लियो। ठुला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६.०२ अङ्कले घटेर ५१२.०२ मा ओर्लियो।
कूल २ सय २५ कम्पनीको एक करोड १९ लाख १७ हजार ७७ कित्ता शेयर छ अर्ब ५२ करोड ७७ लाख २९ हजार ५ सय ४७ रुपैयाँमा खरिद बिक्री भए। नबिल बैङ्क शीर्ष स्थानमा रही २९ करोड ८२ लाख ८१ हजार ७ सय ५२ कारोबार भयो।
मानुषी लघुवित्त, साहस ऊर्जा र तेह्रथुम पावरको शेयर ९.९९ प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो।, आइसिएफसी फाइनान्स र महालक्ष्मी विकास बैङ्कको शेयर मूल्य १० प्रतिशतले ओरालो लागेर नकारात्मक सर्किट लाग्यो।
बिहीबार नेप्से ओरालो लाग्ने क्रम रोकिएन। नेप्से ५९.५७ अङ्कले घटेर दुई हजार ६९०.२९ मा ओर्लियो। ठुला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.६३ अङ्कले घटेर ५०२.१९ मा पुग्यो। कूल २ सय २५ कम्पनीको ९४ लाख ७५ हजार ९३६ कित्ता शेयर पाँच अर्ब ११ करोड ९६ लाख दुई हजार ५ सय ४० रुपैयाँमा खरिद बिक्री भएका थिए।
कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लाग्यो। बिहीबार महालक्ष्मी विकास बैङ्क शीर्ष स्थानमा रहेर ४७ करोड ४९ लाख ३४ हजार ५ सय २१ रुपैयाँ बराबरको कारोबार भएको थियो। मानुषी लघुवित्त र तेह्रथुम पावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको थियो।
कात्तिक २७, २०७८ शनिबार २०:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।