भ्रष्टाचार र अनियमितताका विरुद्ध भण्डाफोर गर्न अर्थमन्त्रीले गरे आग्रह

पोखरा : अर्थमन्त्री जनार्दन शर्माले भ्रष्टाचार र अनियमितताका विरुद्ध सशक्त ढङ्गले कलम चलाउन पत्रकारहरूलाई आग्रह गरेका छन्।
प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको दोस्रो अधिवेशनमा मन्त्री शर्माले अनियमितताको विषयमा कुनै पार्टी वा नेताको मुख नहेरी त्यसको सशक्त भण्डाफोर गर्न आग्रह गरेका हुन्।
‘गलत क्रियाकलापका विरुद्ध आफ्नो अर्को हेर्ने होइन, त्यसको विरोधमा कलम चलाउनुस्। मैले कुनै गल्ती गरेँ भने मेरो पनि भण्डाफोर गर्नुस्’ उनले भने,‘सत्यलाई स्थापित गर्ने र गलतको विरोध गर्ने दायित्व पत्रकारहरूको काँधमा छ।’
देशमा आत्मनिर्भर अर्थतन्त्र निर्माणको लागि सरकारले काम गरिरहेको मन्त्री शर्माले उल्लेख गरे। उनले उत्पादन र रोजगारी सृजनाको पक्षमा पनि कलम चलाउन आग्रह गरे।
सरकारले पहिलो पटक गरिबलाई सम्झेर अतिविपन्न परिवारलाई मासिक १० हजार राहत दिने, राजनीतिक आन्दोलनका शहीद परिवारलाई मासिक ३ हजार भत्ता दिने, दीर्घ रोगीलाई मासिक ५ हजारका दरले उपचार खर्च दिने, घाइते तथा अपाङ्गता भएकाहरूको व्यवस्थापन, दलित आवासलगायतका लोकहितकारी निर्णय गरेको उनले जानकारी दिए।
सरकार सदैव प्रेस स्वतन्त्रताको पक्षमा रहेको भन्दै मन्त्री शर्माले कतिपय प्रदेशहरूमा आम सञ्चार प्रतिष्ठान गठन सम्बन्धी विधेयकहरू पत्रकारमैत्री नभएको गुनासो सुनिएकाले त्यसलाई सच्याउनुपर्ने बताए।.
कात्तिक २७, २०७८ शनिबार १५:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।