ढाका कपडा प्रदर्शनी काठमाडौँमा 

ढाका कपडा प्रदर्शनी काठमाडौँमा 

काठमाडौँ : ढाका बस्तु प्रदर्शनी पुस २ गतेदेखि काठमाडौँमा हुने भएको छ। ढाका कपडाको बजारीकरण गर्ने उद्देश्यले व्यवसायीहरूको राष्ट्रिय सम्मेलन तथा दोस्रो ढाका वस्तु प्रदर्शनी आगामी पुस २ गतेदेखि हुने भएको हो। 

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ केन्द्र र नेपाल ढाका कपडा उद्योगी व्यवसायी सङ्घको संयुक्त आयोजनामा आगामी पुस २, ३ र ४ गते काठमाडौँमा प्रदर्शनी हुन ढाका कपडा उद्योगी सङ्घले जनाएको छ। 

सङ्घले विज्ञप्ति निकालेर  परापूर्वकालदेखि चली आएको परम्परागत उद्योग व्यवसायहरू मध्ये नेपालको एक मौलिक उत्पादन ढाका कपडा थोरै पुँजी, परम्परागत प्रविधि र स्थानीय जनशक्तिमा आधारित रहेको उल्लेख गरेको छ। 

ढाका कपडा अमेरिका, जापान, जर्मनी, क्यानडा, स्वीजरल्याण्ड, नेदरल्याण्डलगायतका देशहरूमा निकासी हुने गरेको महासङ्घका अध्यक्ष श्याम प्रसाद गिरीले बताए। 

अहिले ढाका तथा ढाकाजन्य वस्तुको उत्पादनको गुणस्तर कायम गरी तिनको निकासी गर्न सकिने अवस्था रहेको सङ्घको भनाई छ।

हालसम्म ढाका कपडा उत्पादनमा परम्परागत सीप शैली डिजाइन प्याटर्नको मात्र प्रयोग भइरहेकोमा अहिले आएर यसका उत्पादनहरूमा बजारको माग तथा बद्लिँदो परिवेश अनुसार उत्पादन विविधीकरण कार्यको थालनी भएको सङ्घका अध्यक्ष रमेश श्रेष्ठले बताए।

कात्तिक २७, २०७८ शनिबार १४:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।