व्यवसायीलाई दैनिक २० किलो सुनले पुगेन, ३० किलो चाहियो

महासङ्घका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा शुक्रबार गएको महासङ्घको प्रतिनिधिमण्डलले हालको आपूर्ति व्यवस्थाले बजारको माग धान्न नसकेको भन्दै तत्काल आपूर्ति व्यवस्था बढाउन राष्ट्र बैङ्कसँग आग्रह गरेको हो।
महासङ्घले राष्ट्र बैङ्कको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेल समक्ष मुलुकभर रहेका सुनचाँदी व्यवसायीको सङ्ख्या, यो व्यवसायमार्फत प्राप्त रोजगारी, राज्यलाई प्राप्त राजस्व लगायतका विषय समेटिएको प्रतिवेदन बुझाएको जनाएको छ। हाल हुँदै आएको दैनिक २० किलो सुन अपर्याप्त भएको महासङ्घले उल्लेख गरेको जनाएको हो।
महासङ्घका अध्यक्ष शाक्यले विभिन्न नाकाबाट सुनको वितरण गर्नुपर्ने नीतिगत व्यवस्था भए पनि हालसम्म सुनको वितरण काठमाडौँ केन्द्रित रहेको बताए। उनले त्यसलाई विकेन्द्रित गर्दै सहजरुपमा तोकिएका नाकाबाट व्यवसायीले कच्चा सुन पाउने व्यवस्था मिलाउनुपर्ने माग गरेका सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
महासङ्घका अनुसार राष्ट्र बैङ्कका कार्यकारी निर्देशन पौडेलले व्यवसायीका माग सम्बोधन गर्न आवश्यक पहल गर्ने आश्वासन दिएका छन्।
कात्तिक २६, २०७८ शुक्रबार २१:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।