बैङ्क तथा वित्तीय संस्थामा तरलता अभाव : बैङ्कहरूले एकै दिन लिए २४ अर्ब सापटी

बैङ्क तथा वित्तीय संस्थामा तरलता अभाव : बैङ्कहरूले एकै दिन लिए २४ अर्ब सापटी

बैङ्क तथा वित्तीय संस्थामा निक्षेप खोसाखोस हुन थालेको तथा नयाँ लगानी गर्न नसक्ने अवस्थामा पुगेपछि अर्थ मन्त्रालयले राष्ट्र बैङ्कका गभर्नर र वाणिज्य बैङ्कका कार्यकारी अधिकृतहरूसँग छलफल गरेको जनाएको छ। 

बैङ्कहरूले अन्तर बैङ्क सापटीमा कारोबार चलाए पनि प्रणालीमा निक्षेप नथपिएको बैङ्कहरूले बताएका छन्। आज शुक्रबार मात्रै बैङ्कहरूले २४ अर्ब रुपैयाँ बराबरको रकम राष्ट्र बैङ्कसँग सापटी लिएर चलाएका छन्। 

अर्थमन्त्री जनार्दन शर्माले  ‘क’ वर्गका २७ वटा वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृतसँग गरेको छलफलमा बैङ्क तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको खास प्रतिफल देखिन नसकेको बताए। उनले सकारात्मक प्रभाव पर्ने क्षेत्रमा लगानी गर्नुपर्ने बताए। 

ठुला व्यवसायीले उपभोग गरेको कर्जाको प्रतिफलका बारेमा आम रूपमा चर्चा भइरहेको बेला अर्थमन्त्रीले तरलताको अभाव भएको भए साना तथा मझौला कर्जामा ध्यान दिन आग्रह गरे। उनले मुलुकको आवश्यकता, सरकारको चाहना अनुसारको आर्थिक गतिविधि अगाडि बढाउन तयार रहेको र सोही अनुसारको नीतिगत व्यवस्था गरेको भन्दै बैङ्क तथा वित्तीय संस्थाका केही समस्या भए त्यसलाई समाधान गरिदिन राष्ट्र बैङ्कलाई निर्देशन दिए। 

छलफलमा नेपाल बैकर्स सङ्घका अध्यक्ष अनिल उपाध्यायले तरलता अभावका कारण तत्कालका लागि ठुला भनिएका कर्जा रोकेर साना कर्जामा ध्यान दिनुपर्ने अवस्था आएको बताए।

कात्तिक २६, २०७८ शुक्रबार १९:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।