चिनी व्यापारीले गृहमन्त्रीलाई भने, कच्चा पदार्थ आयातमा भएको अन्योल हटाइदिनुहोस्

काठमाडौँ : नेपाल चिनी उत्पादक सङ्घले तेजाब वा अन्य घातक रासायनिक पदार्थ उत्पादन निकासी वा पैठारीका लागि बनाइएको अध्यादेश खारेज भएपछिको अन्योल फुकाइदिन आग्रह गरेको छ।
मंगलबार गृह मन्त्रालयमा सङ्घका अध्यक्ष शशिकान्त अग्रवाल नेतृत्वको टोलीले अब चिनी मिल सञ्चालन गर्नका लागि एक महिना मात्रै बाँकी रहेकाले अध्यादेश खारेज भएपछिको अन्योल फुकाइदिन आग्रह गरेको हो।
पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको यो अध्यादेश ६ महिनासम्म संसद्मा पेस नभएकाले स्वतः खारेज भएको थियो।
अध्यादेश खारेज भएपछि त्यसअनुरूप बनेको कार्यविधि स्वतः खारेज भएको र पुरानो कार्यविधि अनुरूप चिनी बनाउन आवश्यक पर्ने कच्चा पदार्थ आयात गर्दा कम्तीमा दुई महिना लाग्ने भन्दै अन्यौलता फुकाइदिन गृहमन्त्री बालकृष्ण खाँणलाई आग्रह गरेको चिनी उत्पादक सङ्घले जनाएको छ।
टोलीको माग सुनेपछि मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले नयाँ कार्यविधि बनाउने विषयमा शुक्रबार सरोकारवाला पक्षसँग मन्त्रालयले छलफल आयोजना गरेको र त्यो छलफलबाट टुङ्ग्याउने जानकारी दिए।
गृहमन्त्री खाँणले अन्यौलता हटाउन तत्काल पहल गर्न प्रवक्ता पोखरेललाई निर्देशन दिएका गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ।
कार्यविधि नहुँदा चिनी बनाउन अत्यावश्यक पर्ने कच्चा पदार्थ ‘सल्फर’ आयात गर्न कठिन हुने टोलीको भनाइ थियो। ‘सल्फर’ भारतबाट ल्याउनुपर्छ।
कात्तिक २३, २०७८ मंगलबार २०:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।