बीमासम्बन्धी ठगीमा संलग्न देखिए कारबाही गर्छौँ: बीमा समिति

काठमाडाैंः बीमा समितिले बीमा व्यवसायमा जालसाजीपूर्ण कागजातका अधारमा गलत क्रियाकलाप देखिन थालेकाले यस्ता कार्य नगर्न निर्देशन दिएको छ। एक सूचना जारी गर्दै समितिले कीर्ते र जालसाजीपूर्ण कागजातका आधारमा बीमासम्बन्धी कसुर हुने गरेको गुनासा आउन थालेकाले सतर्क रहनसमेत आग्रह गरेको छ।
बीमा व्यवसायसँग सम्बद्ध विभिन्न व्यक्ति, समूह तथा संस्थामार्फत बिमाका नाममा विभिन्न कीर्ते र जालसाजीपूर्ण कागजात पेश गरी ठगी गर्ने गरेको, कीर्ते कागजात एवं विवरणका आधारमा बीमालेख तयार गर्ने गरेको र हुँदै नभएका घटनाका कीर्ते कागजात पेश गरी दाबी भुक्तानीको प्रयास गरेको गुनासा आउन थालेकाले यस्ता क्रियाकलाप नगर्न निर्देशन दिइएको बताइएको छ।
यस्ता कानुनविपरीतका क्रियाकलापबाट बीमा व्यवसायमा नकारात्मक असर पर्ने र बीमित तथा लाभग्राहीसमेत पीडित भई बीमाप्रति जनविश्वास घट्ने हुनाले यस्ता क्रियाकलापमा संलग्न नहुन अनुराेध गरिएकाे छ। साथै संलग्न भएको देखिए कानुनबमोजिम कडा कारबाही गरिने समितिले जारी गरेको सूचनामा उल्लेख छ।
कात्तिक २३, २०७८ मंगलबार ०९:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।