मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत, भने संसद् ध्वस्त पार्ने विगतको परिपाटी हामीबाट हुँदैन

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीका सांसदले पाण्डेको प्रस्तावमा समर्थन जनाउँदै मत दिए।
प्रदेश सभामा कायम १०९ सांसद मध्ये विश्वासको मत लिने प्रस्तावमा १०४ जना सांसदले मतदान गरेका छन्। त्यसमध्ये पाण्डेको प्रस्तावको पक्षमा ५९ मत परेको छ। विपक्षमा ४३ मत र २ मत तटस्थमा परेको सभामुख सानुकुमार श्रेष्ठले बताए।
प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ।
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएपछि तत्कालीन विपक्षी गठबन्धनको समर्थनमा एकीकृत समाजवादीका पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका थिए। प्रदेश सभा बैठकमा पाण्डेले आर्थिक अनुशासन पालना गराउने र फजुल खर्च घटाउने बताए।
जनताको जायज मागलाई सम्बोधन गर्ने मुख्यमन्त्री पाण्डेको भनाई थियो। उनले तोकिएको समयमा काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने र ढिलासुस्ती गर्नेलाई अनुशासनको कारबाही गर्ने बताए।
उनले हुन सक्ने कामलाई थन्क्याएर राख्ने प्रवृत्तिलाई अन्त्य गर्ने प्रतिबद्धता पनि प्रदेश सभा बैठकमा जनाएका छन्।
विगतको विकृति विसङ्गति अन्त्य गर्ने बताउँदै उनले संविधानविरुद्ध नजाने बताए। ‘यो सरकार संविधानविरुद्ध जाँदैन,’पाण्डेले भने,‘संसद् ध्वस्त पार्ने विगतको परिपाटी हामीबाट हुँदैन।’
कात्तिक २२, २०७८ सोमबार १७:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।